जुम्लाको बिहान चिसिएको छ। नेपाली सेनाको टुँडिखेल मैदानमा सूर्यको किरण पर्ने बित्तिकै युवाहरूको हर्षोल्लासले सहरको नीरवता तोडिएको छ। फुटबलको नारा, हुटिङ र हेर्ने लहरले यो सहरको मुटु हल्लाएको छ। फुटबल मात्र होइन, जुम्लाको आत्मा नै खेलिरहेको भान भएको देखिन्छ।
गत कार्तिक ३ गतेदेखि सुरु भएको जुम्लाको चन्दननाथ नगरपालिका–३ वडाले आयोजना खुला पुरुष फुटबल प्रतियोगिता सबैभन्दा ठूलो सामाजिक उत्सव बनेको छ। जुम्लाका ४४ टिम मैदानमा भिडिरहेका छन्। कुनै टोलीका खेलाडी किसान हुन्, कोही विद्यार्थी, कोही रोजगारीका बीच समय निकालेर खेलमा आएका छन्। तर,उनीहरू सबैमा एउटै समानता छ, फुटबलप्रतिको प्रेम, जसले गाउँदेखि शहरसम्मका मनहरू जोडेको छ।
आयोजक समितिका संयोजक राजबहादुर खत्री भन्छन्, 'यो केवल प्रतियोगिता होइन, जुम्लाको ऊर्जा, हाम्रो सहकार्य र पहिचान हो।'आइतबार टुँडिखेल मैदानमा चार खेल भए, तर प्रत्येक खेल एउटा कथा जस्तै थियो। पहिलो खेलमा जनसेवा युवा क्लबले जि वल्ड एफसीलाई २–१ ले पराजित गर्यो।
जनसेवाका विशाल थापा गोलपछि हात आकाशतिर उठाउँछन्। टुँडिखेल गुञ्जिन्छ। थापा भन्छन्, 'हामी मैदानमा मात्र होइन, गाउँको नामका लागि पनि खेल्छौं।' दोस्रो खेलमा मुगुम एफसीले जनसेवालाई २–१ ले हरायो। मुगुमका सर्जन नेपालीको गति, फुटवर्क र जोशले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। तेस्रो खेलमा जनप्रेमी युवा क्लबले परोपकारलाई २–० ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनायो, जनप्रेमीका प्रवेश भण्डारी ‘म्यान अफ द म्याच’ बने। उनी गर्वले भन्छन्, 'हामी जित्दैछौं, तर हाम्रो लक्ष्य केवल जित होइन, जुम्लामा खेल संस्कृति फैलाउने हो।'
अन्तिम खेलमा नौमुडे युवा क्लबले समाजका लागि युवा क्लबलाई २–१ ले हरायो।घाम अस्ताउँदै गर्दा मैदानमा नौमुडेका समर्थकहरू हुटिङले खुशी बाँडिरहेका थिए, त्यो क्षणमा टुँडिखेल केवल मैदान थिएन, एउटा उत्सव थियो।जुम्लामा यति ठूलो दर्शकको भिड अन्तिम पटक कहिले लागेको थियो, कसैलाई याद छैन। टुँडिखेल वरिपरि छालझैँ दर्शक बगिरहेका छन्, बुढाबुढी, बालबालिका, विद्यार्थी, महिला र युवा सबै, बस्ने ठाउँ छैन, कतिपयले पर्खाल र घरको छतमा चढेर खेल हेर्छन्। कतिपय उभिएर हेर्छन्।
'पहिले हामी मेला हेर्न आउँथ्यौं, अहिले खेल हेर्न आउँछौं। यो पनि हाम्रो मेला हो,' गुठिचाैर गाउँपालिका- २ सुकबहादुर ऐडी। आयोजकका अनुसार सोमबारका चार प्रि–क्वाटर फाइनल खेलहरू पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल साेमबार (आज) विहान ८ बजे सुनार टोल भर्सेस मासी वईज बीच हुने छ। दोस्रो खेल विहान १० बजे मिलन युवा क्लब र के.सी एफसीबीच खेल हुनेछ भने तेस्रो खेल दिउँसो १ बजे चन्दननाथ -३ र भुरिचुला बीच हुने छ।
सोमबारको अन्तिम खेल दिउँसो ३ बजे फोईकालिका युवा क्लब र फोईकालिका एफसी बीच खेल हुनेछ। जुम्लाको कथा कहिले कृषि, कहिले परम्परा, कहिले कठिनाइसँग जोडिएको थियो। तर,अहिले त्यो कथामा नयाँ अध्याय थपिएको छ। खेलकुदको अध्याय। फुटबलले युवाहरूमा आत्मविश्वास, प्रतिस्पर्धा र एकताको भावना जगाइरहेको छ।
संयोजक खत्रीका अनुसार यो मैदानमा खेल्ने हरेक युवाको पसिना भविष्यको बीउ हो। खेलले जुम्लालाई नयाँ दिशा दिइरहेको छ। 'टुँडिखेलको माटोमा जब सूर्य ढल्किन्छ, दर्शक बिस्तारै फर्कन्छन्। तर त्यो माटोमा खेलाडीसँगै बगाएको पसिना, दर्शकको ताली, र जुम्लाको हाँसो हावामा बाँकी रहन्छ। त्यो हावाले भोलिको सन्देश बोकेको छ, 'जुम्ला अब फुटबलको सहर बन्न तयार छ।'
प्रकाशित: १० कार्तिक २०८२ १२:५६ सोमबार