खेल

सुडानमा फर्किएको फुटबल

युद्धको मोर्चाबाट सयौं किलोमिटर टाढा सुडानी सहर बर्बरमा रहेको एक साधारण स्टेडियममा फुटबल प्रशंसकहरू जोसले उफ्रिरहेको देखिन्छ।

‘यो एक अद्भुत अनुभूति हो र यसलाई वर्णन गर्न गाह्रो छ। यहाँ हामीले सुन्दर दृश्य फर्किएको देख्यौं ,‘फुटबल समर्थक अहमद ताजले भने। नयाँ च्याम्पियन अल–हिलाल र हे अल–वादीबीच लिगको अन्तिम खेलअगाडि उनले सुडानमा फुटबलको उत्साहप्रति व्यक्त गरेको प्रतिक्रिया हो यो। अल हिलाल सुडानको फुटबलमा फर्किंदा उनी धेरै खुसी छन्। ‘विगतका दुई वर्षमा हामीले धेरै क्षति बेहोर्‍यौं। अहिले अल–हिलाल सुडानी फुटबल फर्किएर आउँदा धेरै खुसी छौं,’ उनले थपे।

अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको युद्धले हजारौं मानिसको ज्यान लिएको छ।

सुडान विश्वकै सबैभन्दा ठूलो खाद्यान्न संकट र विस्थापन क्षेत्रको रूपमा देखाएको छ। तर, जुलाईमा हप्ताको केही घण्टा खेलको समयमा देशले विराम लिएको जस्तो देखिन्छ। विस्थापन, भोकमरी र मृत्युका कैयन घटनाबीच पीडित जनताका लागि एक सुखद क्षणका रूपमा फुटबल खेललाई लिइएको छ।

दुई वर्षपछि पहिलोपल्ट सुडान एलिट लिग युद्धग्रस्त राजधानी खार्तुमबाट करिब तीन सय किलोमिटर टाढा उत्तरपूर्वी रिभर नाइल राज्यमा आयोजना गरिएको थियो। अटबारा, बर्बर र अल दामर सहरहरूका साना स्टेडियममा टोलीहरू खेलमा एकआपसमा उत्रिए। जहाँ दर्शकहरूले सामान्य सिटमा बसेर जोस देखाएका थिए।

अटबाराको पावर प्लान्ट र सेनाको क्याम्पमा पछिल्लो पटक गत महिना ड्रोन हमला भएको थियो। त्यसयता यो क्षेत्र खार्तुमभन्दा सुरक्षित मानिन्छ। मंगलबार यस लिगको महत्त्वपूर्ण खेलमा देशका लोकप्रिय टोलीहरू एवम् प्रतिद्वन्द्वी अल–हिलाल र अल–मर्रिख शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरेका थिए। त्यो खेलमा अल–हिलाल विजयी भयो।

यो जितपछि अल हिलाल अंकतालिकाको शीर्षमा रह्यो। दोस्रो स्थानको अल–मर्रिख पनि अफ्रिकन च्याम्पियन्स लिगका लागि छनोट भयो। अल–हिलालका चर्चित कप्तान र राष्ट्रिय टोलीका फरवार्ड मोहम्मद अब्देल रहमान सुडानी माटोमा खेलिरहेका छन्।

यद्यपि, उनी आफ्नै गृह राजधानीको मैदानमा भने खेलेनन्। तर, पनि खेलले उनमा उत्साह थपेको थियो। ‘हामी घर फर्किएर आफ्ना प्रशंसकका सामुन्ने खेल्दा धेरै खुसी छौं,’ उनले गत बुधबार हे अल–वादीविरुद्धको निर्णायक खेलअगाडि भनेका थिए। अल हिलाल र अल–मर्रिख दुवै विदेशी भूमिमा प्रतिस्पर्धा गर्न बाध्य थिए।

गत सिजनमा उनीहरूले मौरिटानियाली लिगमा प्रतिस्पर्धा गरेका थिए। अल–हिलाल यस वर्षको अफ्रिकन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्यो। त्यो सफलतमा सुडानी समर्थकले लामो यात्रासम्म विजयोत्सव मनाएका थिए। ‘हाम्रा प्रशंसकहरूलाई खुसी दिन र केही आनन्द दिन हामी प्रयास गरिरहेका छौं,’ फरवार्ड मोहम्मद अब्देलले थपे। तर, ती सबै समर्थक घर फर्कन भने सक्दैनन्।

यस वर्ष लिगमा आठ प्रतिस्पर्धी टोलीहरूमा एकमध्ये सबै सेनाको नियन्त्रणमा रहेको सहरको प्रतिनिधित्व गर्छन्। हे अल–वादी दक्षिण दारफुर राज्यको राजधानी न्यालाबाट हो। जुन अर्धसैनिकहरूको नियन्त्रणमा छ। त्यो सेनाले हवाई हमला गरिरहने क्षेत्र पनि हो। सुडानको विशाल पश्चिमी दारफुर क्षेत्रमा युद्धका नरसंहारक घटनाहरू देखिएका छन्। त्यस क्षेत्रमा घेराबन्दीका बीच विस्थापन शिविरहरू, बमबारी र जलेर नष्ट भएका स्थान देखिन्छन्।

कप्तान जिब्रिल मोहम्मद नुरले यो लिगमा मिठो–तितो अनुभूति सामना गरेका छन्। ‘म विश्वास गर्न सक्दिनँ। फेरि खेल्न पाउनु व्यक्त गर्न नै नसकिने अनुभूति हो। तर अझै हाम्रा प्रशंसकहरू र गृहनगरलाई सम्झन्छौं। आशा गरौं कि चाँडै त्यहाँ फर्कन सक्नेछौं,’ दारफुरमा नै बस्ने नुरले अल–हिलालविरुद्ध खेल्नुअगाडि भनेका थिए।

युद्ध सुरु भएदेखि उनको टोलीले साउदी अरबमा प्रशिक्षण लिएको थियो। च्याम्पियनसिप सुरु हुन केही हप्ताअगाडि मात्र उनको टोली फर्किएको हो। सुडानका शीर्ष टोलीका केही खेलाडीहरू अझै पनि अभ्यासबाट टाढा छन् र सुविधाहरू पनि राम्रा छैनन्। यस लिगका एक मात्र विदेशी प्रशिक्षक इजिप्टका शावकी घरिब हुन्। अल–मर्रिखका प्रशिक्षक शावकीले तर पनि सुडानी फुटबल उदयको संघारमा देखिएको प्रतिक्रिया दिएका छन्। ‘प्रशंसकहरू यहाँ छन्, खेलाडीहरू यहाँ छन्। जबसम्म हामी खेल्छौं यहाँ एक प्रणाली छ। यहाँका आधारभूत संरचना र सबै कुरा ठिक गर्न सकिन्छ,’ उनले भने।

सुडान फुटबल एसोसिएसनका बोर्ड सदस्य मोहमेद अब्देल समीले यो प्रतियोगिता आयोजना गर्न सकेकोमा गर्व महसुस गरेका छन्। ‘यो सिजन समाप्त भएलगत्तै हामी अर्को सिजनको योजना बनाउँदै छौं। आशा गर्छौं कि प्रत्येक टोली आफ्नै गृहनगरमा खेल्न सक्नेछन्। तर, युद्धको अन्त्य देखिएको छैन र सेनाको नियन्त्रणमा रहेका क्षेत्रहरूमा पनि लाखौंले भोकमरी र सुविधाको अभाव झेलिरहेका छन्।  

प्रकाशित: ८ श्रावण २०८२ ०८:०१ बिहीबार

# Football tournament # Nagariknews