विश्व फुटबल महासंघ (फिफा) ले ४८ राष्ट्र सहभागी हुने आगामी विश्वकप फाइनलका लागि टिकट बिक्री पुनः सुरु गर्दा मूल्य बढाएको छ।
फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको फाइनलका लागि टिकट बिक्री गर्दा प्रक्रियामा प्राविधिक समस्या (ग्लिच) ले प्रभावित भएको थियो। तीन देशमा संयुक्त आयोजना हुने विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। डिसेम्बरमा विश्वकपको ‘ड्र’ पछि टिकट बिक्री गर्दा फाइनलको अधिकतम मूल्य ८ हजार ६८० डलर तोकिएको थियो।
आगामी जुलाई १९ तारिखमा मेटलाइफ स्टेडियम (इस्ट रदरफोर्ड न्यु जर्सी) मा हुने फाइनल खेलका लागि क्याटेगोरी दुईको टिकट सात हजार ३८० डलर पुगेको छ। यसअघि यसको मूल्य पाँच हजार ५७५ डलर थियो। क्याटेगोरी तीनको टिकट पाँच हजार ७८५ डलर पुगेको छ, जुन चार हजार १८५ डलरबाट बढाइएको हो।
बुधबार साँझसम्म ७२ वटा समूहचरणका खेलमध्ये १७ खेलका टिकट मात्र उपलब्ध गराइएको थियो। नकआउट चरणका कुनै पनि खेलका टिकट सूचीमा राखिएको थिएन। अमेरिकाको ११ सहर, मेक्सिकोको तीन सहर र क्यानेडियाको दुई सहरमा आगामी विश्वकप आयोजना हुँदै छ। टिकट मूल्य निर्धारणमा डाइनामिक प्राइसिङ प्रणाली प्रयोग गरिएको छ।
क्यालिफोर्नियाको इन्गलवुडमा जुन १२ तारिखमा हुने उद्घाटन खेल (अमेरिका र पाराग्वे बीच) का लागि दुई हजार ७३५ डलर मूल्य तय छ। डिसेम्बरमा पनि यही मूल्य तय थियो । जुन १९ तारिखमा अमेरिकाले अस्ट्रेलियाबीच सियाटलमा र जुन २५ तारिखमा टर्कीसँग तय खेलका लागि पनि कुनै टिकट सार्वजनिक गरिएको छैन।
जुन ११ तारिखमा मेक्सिको सिटीमा हुने मेक्सिको र साउदी अरेबियाबिच उद्घाटन खेल हुनेछ। यसको टिकट मूल्य दुई हजार ९८५ डलर पुगेको छ। यसअघि यसको मूल्य दुई हजार ३५५ डलर थियो। क्यानडाको पहिलो खेल (जुन १२, टोरन्टो) को टिकट हजार २४० डलर पुगेको छ तर पहिले दुई हजार १७० डलर थियो। टिकट बिक्री सुरु हुँदा धेरै प्रयोगकर्ताहरू गलत लिंकमा पठाइएका थिए, जसले गर्दा लामो समयसम्म ‘क्यू’ (लाइन) मा बस्नुपर्ने अवस्था सिर्जना भएको थियो। फिफाले केही समयपछि समस्या समाधान भएको जनाएको थियो।
यसअघि टिकट बिक्रीका चार चरण सम्पन्न भइसकेका छन्, यो पाँचौं चरण हो। यस चरणमा पहिलो पटक दर्शकहरूले सिटको निश्चित स्थान रोजेर टिकट किन्न पाएका छन्। डिसेम्बरपछि टिकट मूल्य १४० डलरदेखि आठ हजार ६८० डलरसम्म राखिएको थियो। आलोचनापछि फिफाले प्रत्येक टोलीका समर्थकका लागि ६० डलरका सीमित टिकट उपलब्ध गराउने जनाएको थियो। मार्च १० तारिखमा अमेरिकी संसद्का ६९ डेमोक्रेट सांसदहरूले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै डाइनामिक प्राइसिङले विश्वकपलाई सबैभन्दा महँगो र पहुँचभन्दा बाहिर बनाउने चेतावनी दिएका थिए।
साथै फिफाले आफ्नै रिसेल (पुनः बिक्री) बजार पनि सञ्चालन गर्दै आएको छ। जहाँ खरिदकर्ता र विक्रेता दुवैबाट १५ प्रतिशत शुल्क लिइन्छ। जनवरीमा इन्फान्टिनोले टिकट माग एकैपटक एक हजार वर्षका विश्वकप बराबर आएको दाबी गरेका थिए। यसबिच, बढ्दो मूल्यका कारण फ्यान समूहहरूले असन्तुष्टि जनाएका छन्। केहीले युरोपेली आयोगमा औपचारिक उजुरीसमेत दिएका छन्। बोस्निया हर्जगोभिना, कङ्गो, चेक रिपब्लिक, इराक, स्विडेन र टर्कीले प्लेअफमार्पmत विश्वकपमा स्थान बनाएका छन्। इटाली, पोलान्ड, डेनमार्क, जमैका र बोलिभियाका समर्थकले पनि टिकट किनेका थिए तर उनीहरूका राष्ट्र भने विश्वकपमा छनोट हुन असफल भए।
प्रकाशित: २० चैत्र २०८२ ०६:४१ शुक्रबार