खेल

ताप्लेजुङ गोल्डकप खेल्ने आठ टिम सार्वजनिक, विजेताले ७ लाख २ हजार रुपैयाँ पाउने

फुङलिङमा साउन २४ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा सहभागी हुने ८ टिमको टुङ्गो लागेको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार पत्रकार सम्मेलन गर्दै ८ टिमबारे जानकारी गराएको हो ।  

आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार आयोजकका तर्फबाट यसवर्ष सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले प्रतिस्पर्धा गर्नेछ । यस्तै चर्च व्वाइज काठमाडौं, साहारा क्लव पोखरा, रेडस्टार फुटबल क्लव झापा, द योङ ब्रर्दश क्लव इटहरी, सलहेश युवा क्लव सिराहा, फिदिम स्र्पोटिङ क्लव पाँचथर र आमन्त्रित फुटबल टोलीको रुपमा भारतको सिलगुढीस्थित लेजण्ड फुटबल एकेडेमी सहभागी हुने पक्का भएको छ ।  

प्रतियोगिताका विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदयीमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ७ हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  

आयोजक समितिका कोषाध्यक्ष शेर्पाका अनुसार ७ लाख वा सोभन्दा माथि सहयोग उपलब्ध गराउने कम्पनी वा संघसंस्थालाई टाइटल स्पोन्सरमा राखिने भएको छ । प्रतियोगिता सञ्चालनका लागि फुङलिङ नगरपालिकाले ७ लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै ३ लाख ५१ हजार देखि ६ लाख ९९ हजार ९ सय ९९ रुपैयाँसम्म सहयोग प्रदान गर्नेलाई प्रायोजक, १ लाखदेखि ३ लाखसम्म सहयोग गर्नेलाई सहप्रायोजक र ५० हजारदेखि माथि ९९ हजार ९ सय ९९ रुपैयाँसम्म सहयोग गर्ने कम्पनी वा संस्थालाई बिशेष सहयोगीको रुपमा लिने आयोजक समितिले निर्णय गरेको छ ।  

खेलमा उपस्थित रेफ्री र सहभागी खेलाडीको खेल अवधिभर कुनै दुर्घटना भएमा १ लाख बराबरको बिमा गरिने समेत आयोजक समितिले जनाएको छ ।  

आयोजक समितिका सचिव टीकेन्द्र नेपालीका अनुसार सहभागी टिमले खेल बहिष्कार गरे  ५० हजार रुपैयाँ जरीवाना गरिने छ भने थप कारबाहीका लागि जिल्ला फुटबल संघमार्फत् नेपाल फुटबल संघ(एन्फा)मा सिफारिस गरिने छ ।  

प्रतियोथिताको फाइनल साउन ३१ गते हुनेछ । साउन ३० गते साँझ सांस्कृतिक कार्यक्रम राखिएको छ । गोल्डकपका लागि भने क्वार्टरफाइनलको प्रतिदिन जनही १ सय, सेमीफाइनलका प्रत्येक खेलको जनही २ सय र फाइनल खेलको जनही २ सय ५० रुपैयाँ टिकटदर कायम गरिएको छ । नेपाल सरकारले प्रमाणित गरेका बृद्धबृद्धा(जेष्ठ नागरिक), १० वर्ष मुनिका बालबालिका र फरक क्षमता भएका नागरिकलाई उनीहरुलाई प्राप्त प्रमाणपत्रका आधारमा गोल्डकपको अवलोकन सेवा निःशुल्क प्रदान गरिने समेत आयोजक समितिले जनाएको छ ।  

 

प्रकाशित: ४ श्रावण २०८२ १५:४९ आइतबार

#NagarikNews #NepaliNews #TaplejungGoldcup