नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को सम्भावित प्रयोगले नेपाली क्रिकेटमा नयाँ बहस सुरु भएको छ।
अघिल्ला दुई संस्करणमा अम्पायरका केही निर्णयलाई लिएर खेलाडी, प्रशिक्षक र समर्थकबाट प्रश्न उठेको पृष्ठभूमिमा तेस्रो संस्करणमा डीआरएस भित्रिएमा त्यसले खेलको निर्णय प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग गर्ने विचार गरिरहेको जनाएको छ। क्यानका सचिव पारस खड्काले शनिबार दुईवटा कम्पनीसँग डीआरएस प्रविधिको परीक्षण भइसकेको र परीक्षण गरिएको प्रविधिको शुद्धता तथा प्रभावकारिताबारे सम्बन्धित पक्षबाट प्रतिक्रिया लिने काम भइरहेको बताएका छन्। प्राप्त प्रतिक्रियाका आधारमा उपयुक्त प्रविधि छनोट गरेर एनपीएलमा डीआरएस प्रयोग गर्ने-नगर्ने निर्णय गरिने उनको भनाइ छ।
तर खड्काका अनुसार नेपालमा स्रोत–साधनको सीमितताका कारण विश्वकपजस्ता ठूला प्रतियोगितामा प्रयोग हुने पूर्ण क्षमताको डीआरएस प्रणाली नै प्रयोग गर्न सम्भव नहुन सक्छ। त्यसैले एनपीएलमा कस्तो स्तरको प्रविधि प्रयोग गर्ने भन्ने विषय पनि महत्वपूर्ण हुनेछ।
डीआरएस एनपीएलमा नयाँ कुरा मात्र होइन, पछिल्ला दुई संस्करणमा देखिएका अम्पायरिङसम्बन्धी विवादको पृष्ठभूमिमा यसको आवश्यकता अझ बढी महसुस गरिएको विषय हो।
एनपीएलको पहिलो संस्करण २०२४ मा भएको थियो। त्यस संस्करणमा पनि अम्पायरका कतिपय निर्णयलाई लिएर सामाजिक सञ्जाल र क्रिकेट समर्थकमाझ चर्चा भएको थियो। तर दोस्रो संस्करणमा पुगेपछि अम्पायरिङको विषय अझै धेरै चर्चामा आयो।
दोस्रो संस्करणका सुरुवाती खेलमै अम्पायरिङलाई लिएर प्रश्न उठेका थिए। प्रतियोगिताको छैटौं खेलसम्म पुग्दा अम्पायर तथा टेलिभिजन अम्पायरबाट दुई दर्जनभन्दा बढी गलत निर्णय भएको रिपोर्टनै सार्वजनिक भएका थिए।
त्यस क्रममा एलबीडब्लू, क्याच, नो बल, स्टम्पिङ र कट बिहाइन्डजस्ता निर्णय विवादमा परेका थिए। केही निर्णय मैदानमै भएका थिए भने केही अवस्थामा टेलिभिजन रिप्ले हेरेर निर्णय लिँदा पनि विवाद उत्पन्न भएको थियो।
चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल यसको एउटा उदाहरण बन्यो। रिजन ढकालको बलमा सन्दीप जोराको क्याचआउटको निर्णय पुनरावलोकनका लागि टेलिभिजन अम्पायरसम्म पुगेको थियो। रिप्लेमा बल फाल्ने क्रममा बलरको खुट्टा क्रिजभन्दा बाहिर गएको देखिए पनि नो बलको निर्णय नदिइएको विषयमा प्रश्न उठेको थियो।
त्यही खेलमा रोहित पौडेलको स्टम्पिङलाई लिएर पनि लामो समीक्षा भएको थियो। टेलिभिजन अम्पायरले निर्णय दिन झन्डै ६-७ मिनेट लगाएका थिए। चितवनका खेलाडी तथा विदेशी खेलाडीले समेत उक्त निर्णयमा असन्तुष्टि जनाएका थिए।
सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजबीचको खेलमा पनि अम्पायरिङ विवादमा परेको थियो। जोस ब्राउनलाई एलबीडब्लू आउट दिइए पनि रिप्लेमा बलमा ब्याटको किनारा लागेको देखिएको थियो। त्यसै खेलमा आरिफ शेखविरुद्धको कट बिहाइन्ड अपिल अस्वीकार गरिएको विषय पनि चर्चामा आएको थियो। पछि रिप्लेमा बलले ब्याटको किनारा छोएको देखिएको थियो।
काठमाडौं गोर्खाजका विकेटकिपर जोहन सिम्पसन स्वयं पनि एलबीडब्लू निर्णयको सिकार भएका थिए। रिप्लेमा बल उनको ग्लोभ्समा लागेर गएको देखिए पनि मैदानमा आउटको निर्णय भएको थियो। उनले त्यसपछि डीआरएसको संकेतसमेत गरेका थिए, तर प्रतियोगितामा औपचारिक डीआरएस उपलब्ध थिएन।
यस्ता घटनाले एउटा प्रश्न उठाएको थियो-प्रविधि उपलब्ध नभएको अवस्थामा महत्वपूर्ण निर्णयमा मानवीय त्रुटि भए त्यसलाई सच्याउने बाटो के हो?
अन्तर्राष्ट्रिय क्रिकेटमा डीआरएसको प्रमुख उद्देश्य नै त्यस्ता निर्णयलाई प्रविधिको सहयोगमा पुनरावलोकन गर्नु हो। मैदानका अम्पायरले गरेको निर्णय अन्तिम नहुने र निश्चित अवस्थाका निर्णयलाई उपलब्ध प्रविधिका आधारमा पुनः जाँच गर्न सकिने भएकाले यसको प्रयोगले निर्णय प्रक्रियामा अर्को तह थप्छ।
दोस्रो एनपीएलमा देखिएको विवादपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पनि अम्पायरिङमा हुने मानवीय गल्ती अन्तर्राष्ट्रिय क्रिकेटमा समेत हुने तर त्यहाँ डीआरएस उपलब्ध रहेको बताएका थिए। उनले कसैलाई दोष दिनुभन्दा सुधार गर्दै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।
यही पृष्ठभूमिमा तेस्रो सिजनमा डीआरएसको प्रवेश भयो भने सबैभन्दा प्रत्यक्ष प्रभाव विवादित निर्णयको पुनरावलोकनमा देखिन सक्छ।
विशेषगरी एलबीडब्लू निर्णयमा डीआरएस महत्वपूर्ण हुन सक्छ। बलको लाइन, ब्याट्सम्यानको शरीरमा लागेको स्थान र बल स्टम्पमा लाग्ने सम्भावनाजस्ता पक्षलाई प्रविधिको सहायताले परीक्षण गर्न सकिन्छ। त्यसैगरी बलले ब्याट छोएको हो कि होइन भन्ने विषयमा उपलब्ध रिप्ले र अन्य प्रविधिबाट थप स्पष्टता प्राप्त गर्न सकिन्छ।
नो बलको निर्णयमा पनि प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्न सक्छ। बलरको अगाडिको खुट्टा क्रिजभन्दा अगाडि परेको हो कि होइन भन्ने विषय कतिपय अवस्थामा आँखाले तत्काल छुट्याउन कठिन हुन्छ। त्यस्तो अवस्थामा प्रविधिबाट गरिएको परीक्षणले निर्णयलाई थप स्पष्ट बनाउन सक्छ।
रनआउट र स्टम्पिङमा भने एनपीएलमा डीआरएस नहुँदा पनि टेलिभिजन अम्पायरको भूमिका रहँदै आएको छ। तर डीआरएस प्रणालीले टोलीलाई निश्चित निर्णय चुनौती दिने अधिकारसमेत दिने भएकाले खेलाडीका लागि यसको दायरा फराकिलो हुनेछ।
यसको अर्को प्रभाव खेलाडी र अम्पायरबीचको विश्वासमा पर्न सक्छ। अम्पायरले गलत निर्णय गर्नै हुँदैन भन्ने होइन। क्रिकेटमा मानवीय त्रुटिको सम्भावना रहन्छ। तर महत्वपूर्ण निर्णय पुनरावलोकन गर्न सकिने व्यवस्था हुँदा एउटा गलत निर्णयका कारण खेलको नतिजा नै प्रभावित हुने सम्भावना घटाउन सकिन्छ।
एनपीएलमा यसको महत्व अझ बढी देखिनुको कारण प्रतियोगिताको प्रतिस्पर्धात्मक स्वरूप हो। छोटो ढाँचाको क्रिकेटमा केही बल वा एउटा विकेटले खेलको दिशा परिवर्तन गर्न सक्छ। अन्तिम ओभरमा भएको एउटा एलबीडब्लू, क्याच वा रनआउटको निर्णयले जित र हारबीचको अन्तर निर्धारण गर्न सक्छ।
यस्तो अवस्थामा डीआरएसले केवल अम्पायरको निर्णयलाई चुनौती दिने माध्यमका रूपमा होइन, खेलको निष्पक्षता कायम गर्ने अतिरिक्त प्रणालीका रूपमा काम गर्न सक्छ।
तर डीआरएस आएपछि अम्पायरिङसम्बन्धी सबै समस्या समाधान हुन्छन् भन्ने पनि होइन। दोस्रो एनपीएलमै टेलिभिजन रिप्ले हेरेर गरिएका केही निर्णयसमेत विवादमा आएका थिए। त्यसैले प्रविधि मात्र पर्याप्त हुँदैन। त्यसलाई सञ्चालन गर्ने प्राविधिक टोली, टेलिभिजन अम्पायर, क्यामेरा एंगल, रिप्ले गुणस्तर र निर्णय प्रक्रियासमेत प्रभावकारी हुन आवश्यक हुन्छ।
पारस खड्काले पनि यही पक्षलाई संकेत गरेका छन्। क्यानले दुई कम्पनीसँग प्रविधिको परीक्षण गरिसकेको र त्यसको शुद्धता तथा प्रभावकारिताबारे प्रतिक्रिया लिइरहेको जनाएको छ। उपयुक्त प्रविधि छनोट भएपछि मात्रै प्रयोगमा ल्याउने तयारी रहेको छ।
यसको अर्थ एनपीएलमा डीआरएस राख्नु मात्र पर्याप्त हुने छैन। कुन स्तरको डीआरएस राखिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुनेछ।
अन्तर्राष्ट्रिय स्तरको पूर्ण प्रणाली र सीमित स्रोतमा सञ्चालन गरिने प्रणालीबीच क्षमतामा फरक हुन सक्छ। पारसले नेपालमा उपलब्ध स्रोत-साधनलाई ध्यानमा राखेर विश्वकपमा प्रयोग हुने स्तरको पूर्ण डीआरएस प्रणाली प्रयोग गर्न नसकिने बताएका छन्। त्यसैले एनपीएलमा आउने डीआरएसले कुन-कुन निर्णयमा समीक्षा उपलब्ध गराउँछ भन्ने विषय पनि स्पष्ट हुनुपर्नेछ।
यसले नेपाली अम्पायरिङको विकासमा पनि अप्रत्यक्ष प्रभाव पार्न सक्छ। डीआरएस उपलब्ध भएपछि मैदानका अम्पायरको निर्णय लगातार समीक्षा हुने भएकाले उनीहरूका निर्णयको गुणस्तरबारे थप तथ्यगत मूल्यांकन गर्न सकिनेछ। यसले प्रशिक्षण र सुधारका लागि तथ्य उपलब्ध गराउन सक्छ।
तर डीआरएसलाई अम्पायरमाथि अविश्वास गर्ने उपकरणका रूपमा बुझ्नु भने हुँदैन। मैदानका अम्पायर नै खेल सञ्चालनको पहिलो तह हुन्। डीआरएस उनीहरूको स्थान लिनका लागि नभई सीमित र महत्वपूर्ण निर्णयमा सहयोग गर्ने प्रणाली हो।
त्यसैले तेस्रो एनपीएलमा डीआरएस आएमा यसको सबैभन्दा ठूलो परिवर्तन निर्णय प्रक्रियाको पारदर्शितामा देखिन सक्छ। अघिल्ला दुई सिजनमा विवादित निर्णयपछि खेलाडी र समर्थकले ‘रिप्लेमा के देखिन्छ?’ भन्ने प्रश्न उठाउने अवस्था धेरै देखिएको थियो। डीआरएसको औपचारिक व्यवस्था भएमा निश्चित निर्णयलाई नियमअनुसार पुनरावलोकन गर्ने अवसर टोलीले पाउनेछ।
यसले खेलाडीको मानसिक दबाबसमेत केही हदसम्म घटाउन सक्छ। आफूविरुद्ध भएको निर्णय गलत भएको विश्वास भएमा निर्धारित प्रक्रियाबाट पुनरावलोकन माग्न सकिने व्यवस्था हुँदा मैदानमै लामो विवाद गर्ने अवस्था कम हुन सक्छ। तर समीक्षा माग्ने अधिकारको प्रयोग पनि खेलका नियम र तोकिएको प्रक्रियाअनुसार नै हुनेछ।
अर्कोतर्फ, डीआरएसका कारण खेलको समय केही बढ्न सक्ने पक्ष पनि छ। प्रत्येक समीक्षामा भिडियो, आवश्यक प्रविधि र निर्णय प्रक्रियाका कारण केही समय लाग्छ। त्यसैले समीक्षा प्रक्रिया छिटो, स्पष्ट र व्यवस्थित हुनु आवश्यक हुनेछ।
तर, एनपीएलमा डीआरएस लागू गर्दा क्यानका लागि प्रविधिको उपलब्धतासँगै खर्च व्यवस्थापन पनि अर्को चुनौती बन्न सक्छ। डीआरएस सञ्चालनका लागि क्यामेरा, ट्र्याकिङ प्रविधि, रिप्ले प्रणाली, प्राविधिक जनशक्ति र टेलिभिजन अम्पायरलगायतका पक्षमा थप खर्च आवश्यक पर्छ। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रयोग हुने पूर्ण क्षमताको डीआरएस महँगो पर्ने भएकाले एनपीएलको बजेटअनुसार उपयुक्त प्रविधि छनोट गर्नुपर्ने हुन्छ। क्यानले दुई कम्पनीसँग परीक्षण गरिसकेको अवस्थामा लागतसँगै प्रविधिको विश्वसनीयता र आवश्यक सेवा कति प्रभावकारी छ भन्ने पक्षलाई पनि हेर्नुपर्नेछ। प्रतियोगिता विस्तार हुँदै गएको अवस्थामा खर्च बढे पनि खेलको निर्णय प्रक्रियामा पारदर्शिता र विश्वसनीयता बढाउने लगानीका रूपमा यसलाई हेर्न सकिन्छ।
एनपीएलको तेस्रो संस्करणको प्रसारण पनि अघिल्ला संस्करणभन्दा ठूलो हुने तयारीमा छ। प्रतियोगिता स्टार स्पोर्ट्स, हिमालय टेलिभिजन र नेट टीभीको ओटीटी प्लेटफर्मबाट प्रसारण हुने बताइएको छ। यस्तो अवस्थामा उच्चस्तरीय प्रसारणसँगै निर्णय पुनरावलोकनको प्रविधि जोडिनु प्रतियोगिताको प्राविधिक पक्षका लागि पनि महत्वपूर्ण हुनेछ।
अन्ततः एनपीएलमा डीआरएस आउनु प्रविधि थपिने विषय मात्रै होइन। अघिल्ला दुई संस्करणमा देखिएका अम्पायरिङ विवादपछि खेलको निर्णय प्रक्रियालाई कसरी थप विश्वसनीय बनाउने भन्ने प्रश्नसँग पनि यो जोडिएको छ।
तेस्रो संस्करणमा डीआरएस लागू भयो भने त्यसले अम्पायरको भूमिका समाप्त गर्ने होइन, बरु महत्वपूर्ण निर्णयमा प्रविधिको सहयोग थप्नेछ। तर त्यसको प्रभाव कति प्रभावकारी हुन्छ भन्ने कुरा प्रयोग गरिने प्रविधिको गुणस्तर, क्यामेरा तथा प्रसारण संरचना, टेलिभिजन अम्पायरको दक्षता र समीक्षा प्रक्रियाको स्पष्टतामा निर्भर हुनेछ।
अघिल्ला दुई संस्करणका विवादित निर्णयले एनपीएललाई एउटा पाठ भने दिएको छ-प्रतियोगिता ठूलो हुँदै जाँदा खेलको स्तरसँगै निर्णय प्रणाली पनि बलियो बनाउनुपर्ने हुन्छ। तेस्रो संस्करणमा डीआरएस भित्रिएमा त्यसले यही पक्षमा एउटा महत्वपूर्ण कदम थप्न सक्छ। यसको वास्तविक मूल्य भने प्रविधि राखियो कि राखिएन भन्नेभन्दा पनि गलत निर्णयको सम्भावना हुँदा त्यसलाई नियमअनुसार सच्याउने भरपर्दो अवसर कति प्रभावकारी रूपमा उपलब्ध गराइयो भन्ने कुराले निर्धारण गर्नेछ।
प्रकाशित: ४ आश्विन २०८३ ०९:०८ आइतबार