खेल

‘सहिद मुक्सन किराँतीको स्मृतिमा खोटाङमा जिल्लास्तरीय भलिबल हुने’

खोटाङका सहिद मुक्सन किराँतीको स्मृतिमा आगामी मङ्सिर २५ गतेदेखि जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

सहिद मुक्सन स्मृति केन्द्र खोटाङको आयोजनामा ‘सहिद मुक्सन किराँती स्मृति जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता-२०८३’ को दोस्रो संस्करण सञ्चालन गर्न लागिएको हो।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५, लफ्याङस्थित सहिद स्मारकस्थलमा सञ्चालन हुने जानकारी दिएको छ।

सहिद परिवारकै प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता तीन दिनसम्म चल्ने प्रतियोगिता संयोजक जितेन्द्र राईले बताए।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

विधागततर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट लिबेरो, उत्कृष्ट मिडिल ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सर्भरलाई जनही २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

सहिद किराँतीको स्मृति र योगदानको कदर गर्दै खोटाङमा भलिबल खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्मृति केन्द्रका अध्यक्ष बबि चामलिङले बताए।

युवाहरूलाई खेलकुदप्रति आकर्षित गरी अनुशासन, नेतृत्व विकास र प्रतिभा पहिचान गराउन प्रतियोगिताले सघाउ पुर्‍याउने अपेक्षा केन्द्रले लिएको छ।

खेलकुदमार्फत सामाजिक सद्भाव, सहकार्य र सामुदायिक एकता अभिवृद्धि गर्नुका साथै सहिदको स्मृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु प्रतियोगिताको मुख्य ध्येय रहेको आयोजकको भनाइ छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन जिल्ला परिषद् सदस्य तथा अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्यसमेत रहेका किराँतीको सशस्त्र द्वन्द्वका क्रममा हत्या भएको थियो। उनलाई तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) ले २०५० साल असोज २४ गते अपहरण गरी हत्या गरेको थियो।

पारिवारिक स्रोतका अनुसार बिहान घरबाट तीन जनाको अपरिचित समूहले अपहरण गरी लगेकै साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाको ढुङ्गे खेत पुछारस्थित उत्तिस घारीमा किराँतीको हत्या गरिएको थियो।

किराँतीको शव धारिलो हतियार प्रहार गरिएको र दुवै हात रातो कपडाले बाँधिएको अवस्थामा फेला परेको थियो। हाल नेकपाका सहसंयोजक रहेका तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा सरकारले किराँतीलाई औपचारिक रूपमा सहिद घोषणा गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०८३ २१:०५ बिहीबार