खोटाङमा आयोजित भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ र महिलातर्फ साकेलाले जितेका छन् । दसैँ तिहारको अवसर पारेर जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ स्थित वातिखुम युवा क्लवले प्रतियोगिता आयोजना गरेको हो ।
तिहारअघि सुरु भएर बिहीबार सम्पन्न प्रतियोगिताको उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङले जित्यो भने महिलातर्फ साकेला गाउँपालिका ३ खिदिमा ढाँडेले जितेको आयोजक क्लबले जनाएको छ ।
बिहीबारको अन्तिम सेमिफाइनल खेलमा धितुङ र खिदिमा तथा आयोजक ए र बी टिम फाईनलमा पुगेका थिए । शुक्रबार खेल्नुपर्ने फाईनल खेल वर्षाका कारण सञ्चालन गर्न नसक्ने भएपछि आयोजकले प्रतियोगिता अवधिभरको प्रस्तुतिका आधारमा धितुङ र खिदिमालाई विजेता घोषित गर्दै आफु उपविजेतामा सीमित भएको हो ।
बिहीबार साँझदेखिनै सुरु भएको वर्षा रोकिने छाँटकाँट नदेखिएको तथा शुक्रबार पनि अझ ठूलो पानी पर्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको बेला समय अभाव पनि उत्तिकै भएकाले फाईनल नखेलाई नतिजा घोषणा गर्नुपरेको क्लबले जनाएको छ । आयोजकले पुरुषतर्फ भोजपुर गोगने र महिलातर्फ टेम्मा गोपी टिमलाई सेमिफानलिस्ट घोषित गरेको छ ।
घोषित विजेतालाई गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले पुरुषतर्फ विजेतालाई उपाधिसहित ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । त्यसैगरी महिलातर्फका विजेता र उपविजेता टिमलाई उपाध्यक्ष अरुणा थापा मगरले क्रमश १५ हजार, १० हजार र ५ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगिताका सेमिफाईनलिस्ट पुरुष तथा महिला टिमलाई ५ नं. वडाध्यक्ष डम्बर खड्काले नगद रकम १०–१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रकाशित: १३ कार्तिक २०८२ २०:२४ बिहीबार