खेल

दशरथ रगंशाला अन्तर्राष्ट्रिय खेलका लागि अझै अयोग्य

फुटबलका लागि नेपालको एक मात्र अन्तर्राष्ट्रिय मैदान दशरथ रगंशाला अन्तर्राष्ट्रिय खेल खेल्न अझै अयोग्य ठहर गरिएको छ। एसियन फुटबल फेडेरेसन (एएफसी)ले दशरथ रंगशाला अझै अन्तर्राष्ट्रिय खेल खेलाउने योग्य नभएको ठहर गरेको हो। 

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी अक्टोबर १४ र नोभेम्बर १८ मा एएफसी एसियन कप छनोटको प्रतियोगिता दशरथ रगंशालामै खेल्ने तालिका थियो। तर, एएफसीले फ्लडलाइट राम्रो नभएको, मैदानको स्तर पनि राम्रो नभएको, खेलाडी, मिडिया, भिआइपीहरू सबैका लागि प्रवेशद्वार एउटै रहेको र त्यसले सुरक्षा समेतको खतरा देखाउँदै अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशाला अझै अयोग्य रहेको बताएका हो। 

अब एएफसी एसियन कप छनोटको खेल दशरथ रंगशालामा नभएर अन्य कुनै वैकल्पिक स्थानमा खेल गराउन एएफसीले नेपाललाई निर्देशन दिएको छ। नेपालमा फुटबलका लागि दशरथ रंगशालाबाहेक अर्को अन्तर्राष्ट्रिय स्तरको रगंशाला छैन। यसैले अब एसियन कप छनोटका खेल नेपालमा नहुने पक्का भएको छ। 

एएफसीले एसियन कम छनोटका लागि दशरथ रंगशालालाई अयोग्य ठहर गरे पनि आगामी सेप्टेम्बरमा नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण खेल भने दशरथ रंगशालामै हुने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ। 

प्रकाशित: ११ भाद्र २०८२ १४:५९ बुधबार