चेल्सी मिडफिल्डर इन्जो फर्नान्डेजले आइतबार क्लब विश्वकप फाइनलमा हुने खराब मौसमबारे सतर्क रहनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
‘यहाँ गर्मी अविश्वसनीय नै छ,’फर्नान्डेजले,‘एक खेलमा अलिकति चक्कर आएको पनि थियो। त्यसपछि म मैदानमा ढलेँ। किनभने साँच्चकै चक्कर आइरहेको थियो। यहाँको तापक्रममा खेल्न धेरै कठिन छ।’
फिफाले फाइनलअघि टिकटको मूल्य पनि फेरि घटाएको छ, जुन यस क्लब विश्वकपभर हुँदै आएको छ। चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मेटलाइफ स्टेडियममा दिउँसो ३ बजे उपाधि भिडन्त सुरु गर्नेछन्। जुन स्थानमा अर्को वर्ष विश्वकप फाइनल पनि हुने तय छ। गर्मीको कारण फर्नान्डेजले २०२६ को विश्वकपका खेल दिउँसोको समयमा नगर्न फिफालाई आग्रहसमेत गरेका छन्।
गर्मीले गर्दा खेलको रोमाञ्चकता पनि असर परिरहेको छ। ‘गर्मीले खेलको गति राम्रो हुँदैन,‘उनले भने,‘खेल सुस्त हुन्छ। आशा गरौं कि अर्को वर्ष फिफाले समयतालिकामा परिवर्तन गर्नेछ। कमसेकम एक सुन्दर र आकर्षक फुटबल प्रदर्शन होला भन्ने आशा छ।’
फाइनल खेल सुरु हुँदा तापमान ८३ डिग्री फरेनहाइट (२८ सेल्सियस) रहने पूर्वानुमान छ। तर, यहाँ ३३ सेल्सियसको तापक्रम जस्तो महसुस हुनेछ। ‘यदि राम्रो शक्ती भएन भने यहाँ खेल्न गाह्रो हुनेछ,‘चेल्सीका कप्तान रिसे जेम्सले भने, ‘मलाई लाग्छ हामीले यहाँ धेरै खेलिसकेका छौं। त्यसैले बिस्तारै अभ्यस्त हुँदैछौं।’
फिफाले दुवै टोलीलाई शनिबार मिडिया उपस्थिति नगर्न निर्देशन दिएको थियो। मौसमबारे चर्चासँगै आलोचना हुनसक्ने अनुमान फिफाको थियो।
यस सिजन पिएसजीले लिग वान, कप डी फ्रान्स र पहिलोपल्ट च्याम्पियन्स लिग उपाधि जितिसकेको छ। अब क्लब विश्वकपमा सफलता निकाल्दै पिएसजी यस सिजन चौथो उपाधि भित्राउने लक्ष्यमा छ। चेल्सीले सन् २०२१ मा क्लब विश्वकपको उपाधि जितेको थियो। यसपछि इङ्लिस टोलीले दोस्रोपल्ट यो सफलता भित्राउन चाहन्छ। चार दिनको विश्रामपछि चेल्सी उपाधि भिडन्तमा होमिनेछ। मंगलबार ब्राजिली क्लब फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सीले फाइनलमा स्थान बनाएको हो।
स्पेनिस क्लब रियल म्याड्रिडलाई ४–० ले हराएर पिएसजी फाइनलमा पुग्नुभन्दा एक दिन अघि चेल्सीले उपाधि भिडन्त तय गरेको हो। क्लब विश्वकपमा यस हप्ता टिकटको तीन सय ३० डलरदेखि घटाएर शनिबार १९९.६० डलरसम्म पुर्याइको थियो। चेल्सीका प्रशिक्षक इन्जो मारेस्काले पिएजसी बलियो रहेको स्विकार गरे। ‘म धेरैसँग सहमत छु कि उनीहरू युरोप र विश्वकै उत्कृष्ट टोली हुन्। यसको प्रमाणित पनि उनीहरूले गरिरहेका छन्। उनीहरूले फ्रान्समा राम्रो खेल्दै आएका छन्। त्यो प्रदर्शन च्याम्पियन्स लिगमा पनि देखियो। उनीहरूले यस क्लब विश्वकपमा पनि राम्रो गरिरहेका छन्,‘चेल्सीका प्रशिक्षक मारेस्काले भने।
पिएसजीले गत अप्रिल ५ मा ६ वटा खेल बाँकी रहँदै फ्रान्सेली लिग उपाधि जितेको थियो। त्यसपछि मे २४ मा फ्रेन्च कप जित्यो र एक हप्ता पछि नै च्याम्पियन्स लिगको उपाधि पनि उचाल्यो। पिएसजीले फाइनलमा इन्टर मिलानलाई ५–० ले हराउँदै त्यो सफलता पाएको हो। ‘हामी साँच्चै यो उपाधि जित्न चाहन्छौं। हाम्रा लागि यो एकदमै उत्तम सिजन हुनेछ, यही सफलता दोहोर्याउन धेरै गाह्रो हुनेछ,‘पिएसजी कप्तान मार्किन्होसले भने, ‘हामी साँच्चै इतिहास बनाउन चाहन्छौं।’
चेल्सीका लागि भने यस सिजन सामान्य रह्यो। प्रिमियर लिगमा चौथो स्थानमा खुम्चिएको चेल्सी एफए कपमा चौथो राउन्डमा ब्राइटनसँग पराजित हुन पुग्यो।
लिग कपको चौथो राउन्डमा पनि चेल्सी न्युक्यासललाई नतिजा सुम्पिन बाध्य भयो। तेस्रो श्रेणीको युइएफए कन्फरेन्स लिग भने चेल्सीले जित्यो। ‘सबैले हाम्रो प्रतिद्वन्द्वी बलियो रहेको भन्दै आएक छन्,‘जेम्सले भने,‘हामीले पनि राम्ररी तयारी गरिरहेका छौं र जित्नेछौं।’
पिएसजीका प्रशिक्षक लुइस इनरिकले आफ्ना खेलाडीलाई क्लब विश्वकपको उपाधि जितेर इतिहास रच्न आग्रह गरेका छन्। पिएसजीलाई उपाधिको बलियो दाबेदारको रूपमा हेरिए पनि उनले फाइनलको प्रतिद्वन्द्वी सहज नरहेको पनि स्पष्ट पारेका छन्। ‘चेल्सीसँगको प्रतिस्पर्धा सहज हुने छैन,’स्पेनिस प्रशिक्षक इनरिकले भने, ‘मैले चेल्सीको खेल विश्लेषण गरेको छु। उनीहरू बलियो टोली हुन्।’
कुल ३२ टोलीले प्रतिस्पर्धा गरेको यो क्लब विश्वकपको पहिलो संस्करण हो। जसले आइतबार जित्छ, उनीहरू चार वर्षको लागि विश्व विजेता हुनेछन्। अर्को क्लब विश्वकप सन् २०२९ मा हुने तालिका छ। ‘हामी यस खेलको महत्त्व बुझ्दछौं। यो विश्वकप फाइनलमा हुने एक सुनौलो अवसर हो,‘पिएसिजीका कप्तान मार्किन्हसले भने,‘यो हरेक चार वर्षमा एकपल्ट मात्र हुन्छ। अबको चार वर्षमा हामी कहाँ हुनेछौं भन्ने अहिले नै भन्न सक्दैनौं। त्यसैले यो अवसर हो।’
प्रकाशित: २९ असार २०८२ ०७:३८ आइतबार