खेल

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस आमनेसामने

पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। शनिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले संकटालाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि शुक्रबार पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८–० को फराकिलो जित निकाल्दै उपाधि भिडन्त पक्का गरिसकेको थियो। फाइनल खेल आइतबार पोखरा रंगशालामा हुनेछ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा आर्मीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। इञ्जुरी समयमा दीपा शाहीले तुलसा बोहोराको पासलाई सदुपयोग गर्दै गोल गरेपछि आर्मी अघि बढेको हो।

दोस्रो हाफमा आर्मीले आक्रामक खेललाई निरन्तरता दिँदै ४७औं मिनेटमा चन्द्रा भण्डारीको गोलमार्फत अग्रता दोब्बर बनायो। उनले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै स्कोर ३–० पुर्‍याइन्।

७०औं मिनेटमा संकटाकी विदेशी खेलाडी क्वीनबेल ए अमनाराहले गोल गर्दै खेलमा फर्कने संकेत दिइन् भने दुई मिनेटपछि लिसिया एल जे मोकाम्बिकले फ्रिकिकमार्फत अर्को गोल थप्दै स्कोर ३–२ मा झारिन्। तर, त्यसपछि थप गोल गर्न नसक्दा संकटा प्रतियोगिताबाट बाहिरियो। खेलको इञ्जुरी समयमा हिमा चौधरीले गोल गर्दै आर्मीको ४–२ को जित पक्का गरिन्।

आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दीपा शाही र हिमा चौधरीले एक–एक गोल गरे।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८३ १९:३४ शनिबार