अलराउन्डर जर्ज लिन्डेको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकाले आइसिसी टी ट्वान्टी विश्वकपको सुपर आठको अन्तिम खेलमा जिम्बाब्वेलाई पाँच विकेटले हराएको छ।
केशव महाराजलाई आराम दिँदै टोलीमा समावेश गरिएको लिन्डेले तीन ओभरमा एक विकेट लिँदै २२ रन खर्चिए। त्यसपछि ब्याटिङमा पनि उनले २१ बलमा अविजित ३० रन बनाएर टोलीलाई जित दिलाए। उनको अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण रह्यो। यस जितसँगै दक्षिण अफ्रिका समूह ‘एक’ को शीर्ष स्थानमा रहँदै अपराजित रूपमा सेमिफाइनल पुगेको छ।
कप्तान सिकन्दर रजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनका बावजुद जिम्बाब्वेले जित निकाल्न सकेन। यससँगै जिम्बाब्वेले सुपर आठमा जितविहीन रहँदै यस विश्वकपको यात्रा टुङ्ग्याएको छ। दक्षिण अफ्रिकाले उत्कृष्ट ब्याटिङ गर्दै सुपर आठमा अपराजित रहेको हो। दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले ४२ रन बनाए।
यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। उनले १८ बलमा चार छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले २४ बलमा अविजित २१ रन बनाएर इनिङ खेले। दक्षिण अफ्रिकाले १७.५ ओभरमा पाँच विकेट गुमाएर १५४ रन बनाउँदै लक्ष्य पूरा गर्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएको थियो।
कप्तान सिकन्दरको ४३ बलमा ७३ रनको उत्कृष्ट इनिङ मद्दतले जिम्बाब्वेले राम्रो योगफल बनाएको हो। तर, त्यो जितका लागि पर्याप्त भएन। गत संस्करण (सन् २०२४) को उपविजेता दक्षिण अफ्रिका सुपर आठमा तीनै खेल जित्दै सेमिफाइनल पुग्यो।
दक्षिण अफ्रिकाले भारत, वेस्ट इन्डिज र जिम्बाब्वेलाई हराउँदै उपाधिको बलियो दाबेदारी पनि दिएको छ। दक्षिण अफ्रिका पहिलो चरणमा पनि कठिन समूह ‘ग्रुप डी’ मा थियो। त्यहाँ पनि दक्षिण अफ्रिका अपराजित रह्यो। यस समूहमा न्युजिल्यान्ड र अफगानिस्तान पनि थिए। जिम्बाब्वे भने सुपर आठमा तीनै खेल हार्दै विश्वकपबाट बाहिरिएको छ।
टी ट्वान्टी २० विश्वकपको दोस्रो चरणमा पुगेको जिम्बाब्वे पहिलोपल्ट हो। तर, यसलाई थप यादगार बनाउन भने असफल भएको छ। समूह दुईबाट इङ्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन्। पाकिस्तान र सहआयोजक श्रीलंका बाहिरिएका छन्।
जिम्बाब्वेको इनिङ
जिम्बाब्वेको सुरुआत राम्रो रहेन र टोली ४.३ ओभरमा २८/२ को अवस्थामा पुगेको थियो। त्यसपछि सिकन्दरले टोलीको इनिङ सम्हाल्दै डिओन मायर्ससँग २३ बलमा ३८ रनको साझेदारी गरे। लिन्डेले मायर्सलाई ११ रनमा आउट गर्दै महत्वपूर्ण ब्रेक थ्रु दिलाए। रजाले २९ बलमा अर्धशतक पूरा गरे। उनले पाँच चौका र तीन छक्का प्रहार गरे। लुङ्गी एनगिडी र कोर्बिन बोस्च दुई विकेट लिए। यी दुईले मध्यक्रममा विकेट लिएपछि जिम्बाब्वे ८७/५ को अवस्थामा पुग्यो। त्यसपछि रजाले क्लाइभ मडान्डेसँग २९ बलमा ३९ रनको साझेदारी गरे। अन्तत् क्वेना मफाकाले सिकन्दरलाई आउट गरे। मडान्डेको अविजित २६ रनले जिम्बाब्वेले एक सय ५० रन पार गर्यो।
दक्षिण अफ्रिकाको जबाफ
दक्षिण अफ्रिकाको सुरुआत पनि कमजोर रह्यो। सिकन्दरले अफ स्पिन बलिङ गर्दै एडेन माक्रमलाई ४ रनमा आउट गरे। त्यसपछि उनले विकेटकिपर क्विन्टन डी ककलाई दुई बलमा खाता नखोली आउट गराए। रायन बर्लले उत्कृष्ट क्याच लिँदै रायन रिकेल्टन (३१) लाई आउट गरे। रिकेल्टनले ब्रेभिससँग १८ बलमा २९ रनको साझेदारी गरेका थिए। त्यसपछि ब्रेभिस र डेभिड मिलरले चौथो विकेटका लागि २५ बलमा ५० रनको महत्वपूर्ण साझेदारी गरे।
मिलरले २२ रन जोडे तर जिम्बाब्वेले दबाब कायम राख्यो। रजाले ब्रेभिसलाई आउट गर्दै तेस्रो विकेट लिए। ब्लेसिङ मुजराबानीले पनि मिलरलाई आउट गरेपछि दक्षिण अफ्रिका १०.४ ओभरमा १०१/५ को अवस्थामा पुग्यो। त्यसपछि स्टब्स र लिन्डेले अविजित ४३ बलमा ५३ रनको साझेदारी गरे। यससँगै दक्षिण अफ्रिकाले १३ बल बाँकी रहँदा टोलीलाई जित दिलाए।
प्रकाशित: १८ फाल्गुन २०८२ ०९:०६ सोमबार