खेल

भारतलाई फाइनलमा हराउने अफ्रिदीको दाबी

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले आफ्नो टोली पाकिस्तान एसिया कपको फाइनलमा पुग्ने र भारत नै प्रतिद्वन्द्वी भएमा यसपल्ट हराउने बताएका छन्।

आबुधाबीमा मंगलबार सुपर फोरको खेलमा श्रीलंकामाथि पाँच विकेटको जित निकालेपछि पाकिस्तानको फाइनलमा पुग्ने सम्भावना बढाएको छ। यससँगै तीव्र गतिका बलर अफ्रिदीले उपाधि भिडन्तमा भारत नै पुगेको अवस्थामा यसपल्ट हराउने विश्वास व्यक्त गरेका हुन्। यसै संस्करणमा भारत र पाकिस्तानबीच दुईपल्ट प्रतिस्पर्धा भइसकेको छ।

मंगलबार पाकिस्तानको जित भएपछि यी दुई कट्टर प्रतिद्वन्द्वीबच तेस्रो पटक यस संस्करणमा प्रतिस्पर्धा हुन सक्ने आकलन गरिएको छ। यद्यपि, यसअघि एसिया कपको फाइनलमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा भएको छैन।

सन् १९८४ देखि सुरु भएको एसियाली महादेशको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (युएई) मा भइरहेको छ, जुन १७औं संस्करण पनि हो। बंगलादेशले सुपर फोरमा बुधबार भारतसँग र बिहीबार पाकिस्तानसँग खेल्ने तालिका छ।

यी खेलपछि नै दुबईमा आइतबार हुने फाइनलको प्रतिद्वन्द्वीको टुङ्गो लाग्नेछ। डिफेन्डिङ च्याम्पियन भारतले यसअघि दुवै खेलमा पाकिस्तानलाई हराउँदै बलियो आत्मबल बटुलेको छ। यसमा अफ्रिदीको प्रदर्शन यादगार बन्न सकिरहेको छैन तर उनले श्रीलंकाविरुद्ध भने ३/२८ को महत्त्वपूर्ण प्रदर्शन गरे। ‘उनीहरू अझै फाइनलमा पुगेका छैनन्। जब उनीहरू फाइनलमा पुग्नेछन् र त्यसपछि हामी त्यसबारे सोच्नेछौं,’ अफ्रिदीले भारतसँगको खेलबारे भने,‘हामी यहाँ एसिया कप जित्न आएका हौं। जुन टोली फाइनलमा पुग्नेछ त्यसलाई हराउनेछौं।’

यदि भारत नै फाइनलमा पुगेमा यो उपाधिका लागि उही बलियो दाबेदार देखिन्छ। टी ट्वान्टी फरम्याटमा भारत र पाकिस्तानबीच अहिलेसम्म १५ खेल भएको छ, जसमा भारतले १२ खेल आफ्नो पक्षमा पारेको छ।

सन् २०२२ को सेप्टेम्बरपछि भारतले पाकिस्तानविरुद्ध सातवटा खेल जितेको छ। त्यसमा चार टी ट्वान्टी र तीनवटा एकदिवसीय खेल समावेश छन्। भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले अब आफ्नो टोली र पाकिस्तानबीचको खेल प्रतिस्पर्धाका रूपमा नलिइएको धारणा राखेका छन्।

युएईमा सम्पन्न दुई खेलमा भारतले जित निकाल्यो। उसले त्यहाँ कट्टर प्रतिद्वन्द्वी पाकिस्तानका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेको थियो। यो घटनाले दुईबिचको प्रतिस्पर्धा झन् अर्को उचाइमा पुगेको स्पष्ट हुन्छ। ‘पाकिस्तानले नै हराउँछ भन्ने त्यो उनको धारणा हो,’ शाहिन शाह अफ्रिदीको प्रतिक्रियाबारे सूर्यकुमारले भने,‘जब पाकिस्तान फाइनलमा पुग्नेछ, तब त्यसबारे सोच्नेछौं। हाम्रो जिम्मेवारी नै एसिया कप जित्नु हो र त्यसका लागि उत्कृष्ट इफोर्ट लगाउनेछौं।’    

प्रकाशित: ९ आश्विन २०८२ ०६:४६ बिहीबार