तीन हप्ताअघि खासै चर्चाबिना अस्ट्रेलियामा सुरु भएको एएफसी महिला एसियन कप फुटबल प्रतियोगिता शनिबार फाइनलसँगै समापन हुँदै छ। घरेलु टोली अस्ट्रेलिया र दुई पटकको विजेता जापानबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
मध्यपूर्वको युद्धका कारण प्रभावित इरानी टोलीको सहभागिताले यस प्रतियोगितामा अन्तर्राष्ट्रिय जगत्को ध्यान खिच्यो। आफ्नो देशमा अमेरिका र इजरायलले आक्रमण गर्नुअघि नै इरानी टोलीले मध्यपूर्व छाडेको थियो। टोलीका सात खेलाडीलाई सुरुआतमा अस्ट्रेलिया सरकारले शरण दिए पनि पछि दुईबाहेक सबै स्वदेश फर्किए।
फाइनलमा अस्ट्रेलिया र जापानबिच पछिल्ला चार संस्करणमध्ये तेस्रो पटक भेट हुन लागेको हो। दुईपल्टको च्याम्पियन जापानले यसअघि सन् २०१४ र २०१८ को फाइनलमा अस्ट्रेलियालाई पराजित गरेको थियो। बुधबार राति सिड्नीमा भएको सेमिफाइनलमा जापानले दक्षिण कोरियालाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो।
साम केरको अस्ट्रेलियाले भने साबिक विजेता चीनलाई पर्थमा भएको अर्को सेमिफाइनलमा २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको छ। जापानका मुख्य प्रशिक्षक निल्स निल्सेनले फाइनलमा आफ्नो टोलीले अझ उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।
ग्रिनल्यान्डमा जन्मिएका डेनिस प्रशिक्षक निल्सले सन् २०१७ को महिला युरो कपमा पनि डेनमार्कलाई फाइनलसम्म पुर्याएका थिए। उनै निल्सको प्रशिक्षणमा जापानले पनि एसियाली महादेशमा फाइनल यात्रा तय गर्यो। आफ्नो टोली फाइनलमा उत्कृष्ट साबित हुने उनको आशा छ। ‘हामीले आजभन्दा अझ राम्रो खेल्न सक्छौं। आजको खेल धेरै राम्रो रह्यो। त्यसमा खुसी छौं,’ उनले सेमिफाइनलपछि भने, ‘ताल मिलाउन गाह्रो भएको थियो। तर हामीले आवश्यक स्तर भेट्यौं। अझै हामीले यो गियर बढाउनुपर्छ।’
निल्सेनले अस्ट्रेलियाकी स्टार खेलाडी साम केरको प्रशंसा गर्दै उनलाई विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक भनेका छन्। ‘उनी अहिले पनि उत्कृष्ट छिन्। विश्वकै उनी उत्कृष्ट स्ट्राइकर पनि हुन्,’ उनले भनेका छन्।
अस्ट्रेलियाका मुख्य प्रशिक्षक जोए मोन्टेमुरोले पनि साम केरको प्रभाव महत्त्वपूर्ण रहेको बताए। ‘उनको उपस्थितिले टोलीमा ठूलो ऊर्जा दिन्छ,’ उनले भने।
केरले जारी एसियन कपमा अहिलेसम्म चार गोल गरिसकेकी छन्। चीनविरुद्ध उनले गरेको निर्णायक गोल विशेष चर्चामा रह्यो। उनले गोलकिपरलाई छक्याउँदै निकै साँघुरो कोणबाट गोल गरेकी थिइन्। फाइनलअघि अभ्यासका क्रममा उनको दायाँ घुँडामा चोट देखिएपछि केही चिन्ता उत्पन्न भएको थियो। तर, उनले पूर्ण रूपमा अभ्यासमा फर्किसकेकी छन्।
‘आइस बाथपछि चोट बारे हेरेको थिएँ तर अहिले सबै ठिक छ भन्न सकिँदैन,’ उनले भने। फाइनलअघि शुक्रबार अन्तिम ट्रेनिङ सेसनमा उनको घुँडाको चोटलाई लिएर चिन्ता भएको थियो। यद्यपि, अहिले कुनै समस्या नरहेको उल्लेख छ।
२०२४ जनवरीमा एसिएल चोटको शल्यक्रियापछि उनले एक वर्ष मैदान बाहिर बिताएकी थिइन्। त्यति बेला उनी राष्ट्रिय टोली र चेल्सी क्लबबाहिर रहिन्। केरले १६ वर्षको उमेरमा सन् २०१० मा अस्ट्रेलियालाई एसियन कप जिताउँदा फाइनलमा गोल गरेकी थिइन्। त्यो एसियन कपमा अस्ट्रेलियाले उत्तर कोरियालाई पेनाल्टी सुटआउटमा हराएको हो। अस्ट्रेलियन महिला फुटबलमा अबको ठूलो स्टारको रूपमा साम केर उदाएकी हुन्।
‘त्यति बेला त्यो कति ठूलो उपलब्धि हो भन्ने थाहा थिएन, पछि मात्र यसको महत्त्व बुझेँ,’ उनले त्यो क्षण सम्झँदै भनिन्,‘मलाई नै भाग्यको साथ मिलेको थियो होला। त्यो समय खेलें मात्र अनि त्यसमा खुसी भएँ तर त्यो कति ठूलो सफलता थियो भन्ने महसुस हुन भएको थिएन।’ त्यो एसियन कपपछि तीनवटा संस्करणमा केही गर्न नसकेको औंल्याइन्। ‘हामीले पछिल्लो तीन वटा एसियन कप जित्न सकेनौं। त्यसैले पनि सन् २०१० को संस्करण विशेष रहेछ भन्ने महसुस भयो,’ सामले भनिन्।
हाल ३२ वर्ष पुगेकी केरले शनिबार सिड्नीमा हुने फाइनलमा पुनः ऐतिहासिक क्षण सिर्जना गर्ने अवसर पाउनेछिन्। अब सन् २०२९ मा उज्बेकिस्तानमा २२औं संस्करण हुनेछ जति बेला उनी ३५ वर्षको हुनेछिन्। बढ्दो उमेर र चोटले सताएकी सामका लागि यो महत्त्वपूर्ण संस्करण पनि बन्न सक्नेछ।
प्रकाशित: ७ चैत्र २०८२ १०:५१ शनिबार