खेल

आर्सनल शीर्ष स्थानमा

ब्रेन्टफोर्डका इभान टोनी (दायाँ) आर्सनलका थोमस पार्टीसँग बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर: एपी

ब्रेन्टफोर्डमाथि ३–० को सहज जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिँदा शनिबार भएको खेलमा टोटेनह्यामले तालिकाको पुछारमा रहेको लेस्टर सिटीमाथि ६–२ को फराकिलो जित निकाल्यो।

आर्सनललाई सहज जित दिलाउन विलियम सालिबा, ग्याब्रियल जिसस र फाबियो भिएराले एक/एक गोल गरे। भ्रमणकारी टोली आर्सनलले खेलको १७औं मिनेटमा सालिबाको गोलबाट सुरुआती अग्रता लिएको थियो। २८औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४९औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए। बाँकी समयमा घरेलु टोली ब्रेन्टफोर्डले खेलमा फर्किन निकै कोसिस गरे पनि सफल हुन सकेन।

जितसँगै आर्सनलले सम्पन्न ७ खेलबाट छैटौं जित निकालेको छ। १८ अंक जोडेर आर्सनल शीर्ष स्थानमा अटाएको हो। समान खेलबाट १७ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा छ। उता पराजित ब्रेन्टफोर्डले भने जारी सिजनमा दोस्रो हार भोगेको छ। ब्रेन्टफोर्ड ९ अंकका साथ तालिकाको नवौं स्थानमा यथावत् छ।

प्रिमियर लिग फुटबल अन्तर्गत शनिबारको खेलमा टोटेनह्यामले लेस्टर सिटीमाथि ६–२ को फराकिलो जित निकाल्दा सन ह्युङ मिनले १३ मिनेटमा ह्याट्रिक पूरा गरे। सनले गोलको खडेरी तोड्न कुनै दुबिधा नभएको बताए। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सनको उत्कृष्ट खेलको सहयोगमा टोटेनह्याम लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अघिल्ला ८ खेलमा गोल गर्न नसकेका सनको यो प्रदर्शन टोलीका लागि निकै यादगार बनेको हो।

अघिल्लो दिन मात्र सबै खेलाडी खेल्नका लागि उत्तिकै अब्बल भएको बताएका प्रशिक्षक एन्टोनियो कोन्टेले सनको स्थानमा डेजेन कुलुसेभास्कीलाई पहिलो रोजाइमा मैदान उतारेका थिए। सनको प्रदर्शनलाई प्रशंसा गर्दै कोन्टेले सबै खेलाडीलाई एउटै शैलीमा खेलाइरहनु भन्दा फरक रणनीति लिएको प्रतिक्रिया जनाए।

‘चक्रको आधारमा हामीले खेल सुरुआत गरेका हौं। पहिलो रोजाइका खेलाडीलाई सधैं खेलाइरहनु भन्दा कहिलेकाहीं परिवर्तन गरेर खेलाउँदा खेल मापन गर्न सकिन्छ। एउटै रोजाइका खेलाडीभन्दा फरक खेलाडी मैदान निकाल्दा राम्रो पनि हुने गर्छ,’ टोटेनह्याम प्रशिक्षका कोन्टेले भने।

‘यो सिजन मेरो प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। फिनिसिङ कमजोर भएको छ। केही अभागी पनि भएको महसुस भएको छ,’ सनले भने, ‘आफ्नै प्रदर्शनबाट म आफैँ निराश हुँदै आएको थिएँ। तर गोल गर्ने विषयमा भने विश्वस्त थिएँ। गोल नभएकोमा भन्दा पनि प्रदर्शन कमजोर बन्दा चिन्ता लागेको थियो। कडा मिहिनेत गरेर टोलीलाई केही गरौं भन्ने थियो, जुन आज पूरा भएको छ।’

उता लगातार छैटौं खेलमा पनि पराजय भोगेको लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्स दबाबमा परेका छन्। तालिकाको पुछारमा रहेको लेस्टर सिटीले ७ खेलबाट १ खेलमा बराबरी खेल्दा अन्य खेल गुमाउन पुगेको छ। लेस्टरको अंकतालिकामा १ अंक छ।

‘यो सिजन सुखद सुरुआत गर्न निकै कठिन भइरहेको छ। यसको जिम्मा म लिन्छु,’ लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने, ‘लेस्टरभित्र के भइरहेको छ म नै अनभिज्ञ भइरहेको छु। क्लबमा रहिरहने या अझै संघर्ष गर्ने विषयमा म निकै दुविधामा परेको छु।’

लेस्टर सिटीले छैटौं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो। युरी टेलिमन्सले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए। तर टोली अग्रता कायम राख्न असफल रह्यो। आठौं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई १–१ गोलको बराबरीमा ल्याउँदा २१औं मिनेटमा एरिक डियरले गोल गर्दा टोटेनह्यामले अग्रता २–१ बनाएको थियो।

खेलको ४१औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दा लेस्टर पहिलो हाफमा २–२ को अवस्थामा रहेको थियो। दोस्रो हाफमा भने टोटेनह्यामले आक्रामक खेल देखायो। खेलको ४७औं मिनेटमा रोड्रिगो बेन्टानकरले गोल गर्दै टोटेनह्यामलाई ३–२ को अग्रता दिलाए। ७३औं मिनेटमा सनले गोल गरेपछि टोटेनह्याम ४–२ ले अघि रह्यो।  

प्रकाशित: ३ आश्विन २०७९ ००:५४ सोमबार

प्रिमियर लिग फुटबल आर्सनल शीर्ष स्थानमा