खेल

भारतलाई हराउँदै नेपाल २३ वर्षपछि साग फुटबल विजेता

गुवाहिटी- फुटबलमा नेपाल २३ वर्षपछि दक्षिण एसिया च्याम्यिन भएको छ। वैकल्पिक खेलाडी प्रकाश बुढाथोकीको उच्च प्रदर्शनबाट प्रेरित टिम नेपालले सागअन्तर्गत यू–२३ मा सोमबार भारतलाई २–१ ले हराउँदै स्वर्णपदक चुमेको हो।इन्दिरा गान्धी एथलेटिक रंगशालामा प्रकाशले बराबरी गोल गर्नुका साथ विजयी गोलका अवसर सृजना गरेका हुन्। नेपालको लागि विजयी गोल नवयुग श्रेष्ठले गरे। प्रकाश ४१ औं मिनेटमा मानबहादुर तामाङको ठाँउमा मैदान प्रवेश गरेका थिए। गोलकिपर विकेश कुथूको प्रदर्शन पनि उल्लेख्य रह्यो।

साग अर्न्तगत फुटबलमा नेपालको यो तेस्रो स्वर्ण हो। यसअघि नेपालले १९८४ र १९९३ को ढाका साफमा स्वर्ण पदक जितेको थियो। २००४ इस्लामाबाद यता सागमा यू–२३ फुटबल टोलीले प्रतिस्पर्धा गर्दै आएका छन्।

नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यका लागि साग झन विषेश रह्यो। दुईपल्ट स्वर्ण जित्दाका खेलाडी उनी सोमबार प्रशिक्षकको भुमिकामा मैदानको टच लाईनमा थिए।

'पहिलो हाफमा हामीले खुलेर खेल्ने सकेनौं तर दोस्रो हाफमा हामीले आफ्नो रणनितिमा परिवर्तन गर्यौं ,' नेपाललाई क्षेत्रिय च्याम्पियन बनाएपछि शाक्यले भनेे, 'दोस्रो हाफमा खेलाडीले धेरै राम्रो खेले। भारतीय रक्षापंक्तिको गल्तीमा हामीले फाइदा लियौं। सुरुमै पेनाल्टीमा गोल खाएर पनि पुनरागमन गर्दै उपाधी जित्यौं। दोस्रो हाफमा भारतको मुख्य खेलाडी मह्वीमिङथाङगा र कुमाम उदान्त सिंहलाई रोक्न सक्नुनै हाम्रो सफलता हो।'

माल्दिभ्सविरुद्ध सेमिफाइलनमा दोहोरो पँहेलो कार्डको दर्शन पछि प्रतिबन्धमा परेका रक्षक कमल श्रेष्ठको स्थानमा मान बहादुर तामाङलाई शाक्यले पहिलो रोजाइमा खेलाएका थिए। सुरुबाटै नेपालमाथि हावी बनेको भारतले ३३औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो। नेपालका रक्षक आदित्य चौधरीले भारतका फरवार्ड उदन्त सिंहलाई पेनाल्टी बक्समा फाउल गरेपछि भारतले पेनाल्टी पाएको हो। जसलाई होलिचरण नाजरेले कुनै गल्ति गरेनन्।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले निरन्तर भारतको पोष्टमा दबाब सिर्जना गरेको थियो। ६६ औं मिनेटमा अन्जन विष्टलाई भारतीय रक्षकले फाउल गरेपछि पाएको फ्रिकिकमा प्रकाशले दर्शनीय गोल गरे। उनको फ्रिकिकमा गोल हुँदा विपक्षी गोलकिपर प्रक्रियाविहीन बनेका थिए। त्यसको ६ मिनेट वित्न नपाउँदै नवयुगले गरेको गोल नै नेपालको जितमा निर्णायक बन्यो। वाँया कर्नरबाट प्रकाशले गरेको क्रसलाई पेनाल्टी बक्समा रहेका नवयुगले उत्कृष्ट भली गर्दै पोष्टको दिशा दिएका हुन्।

नवयुगको गोलपछि नेपाली सर्मथकको हुटिङले इन्दिरा गान्धी स्टेडियमको माहोल बदलिएको थियो। नेपाली भाषीको बाहुल्यता रहेको गुवाहाटीका सर्मथकले पनि नेपालको पक्षमा हुटिङ गरेका थिए। गुवाहाटीका सर्मथकले नेपालको झण्डा समाएर खुशी साटेका थिए। प्रतियोगितामा उनको सातौं गोल हो, जसमा दुई ह्याटि्रक सामेल छन्। भुटानविरुद्धको पहिलो खेलमा ह्याटि्रक गरेका उनले सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अर्को ह्याटि्रक गरेका हुन्। उनी प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। दोस्रो स्थानमा रहेका उदन्त सिंहको ३ गोल छ।

भारतका प्रशिक्षक ली एलन जोनसोनले सुरुमा उत्कृष्ट खेलेपनि दोस्रो हाफमा नेेपाललाई खेलाडीले हल्का रुपमा लिएको प्रतिक्रिया दिए।

'पहिलो हाफमा हामीले धेरै गोलगर्ने मौका पाएका थियौ। पेनाल्टीमा बनेको अग्रता जोगाउन सकिएन,' एलन जोनसोनले भने, 'प्रतिद्वन्दीलाई सहज रुपमा लिंदा उल्टै दबाबमा पर्यौंा। नेपालबाट फि्रकिकमा नसोचेको गोल भयो। उनीहरुले दोस्रो हाफमा धेरै राम्रो खलेे। हामीले गोलगर्ने प्रयास गरेपनि सफल बन्न सकेनौं।'

६७औं मिनेटमा विमल घर्तिमगर वान भर्सेस वानमा चुकेका थिए। उनले गरेको फ्लिकलाई भारतका गोलकिपर रेहेनेश टिपीले पन्च गरेका थिए। फर्किएको बललाई नियन्त्रणमा लिएर नवयुगले दिएको पासमा विशाल राईले गरेको प्रहार किपरले बचाउ गरेका थिए। त्यसअघि ६२ औं मिनेटमा हेमनको लामो प्रहार गोलकिपरले बचाएका थिए।

नेपाली टिमः– विकेश कुथू (गोलकिपर), विराज महर्जन (कप्तान), अनन्त तामाङ, मान बहादुर तामाङ (४१ मिनेट, प्रकाश बुढाथोकी), आदित्य चौधरी, विक्रम लामा, विशाल राई, हेमन गुरुङ ( ८० मिनेट, रन्जन विष्ट), अन्जन विष्ट, नवयुग श्रेष्ठ, विमल घर्तीमगर।

सागको स्वर्णिम यात्रा

समुह चरण

नेपाल ५–० भुटान

नेपाल १–२ बंगलादेश

सेमिफाइनल

नेपाल ४–३ माल्दिभ्स ( निर्धारीत समय २–२, थप समय २–१)

फाइनल

भारत २–१

प्रकाशित: ३ फाल्गुन २०७२ २०:१८ सोमबार