खेल

‘स्टार खेलाडी किन्न सक्षम छैनौं’

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्नो क्लब कहिले पनि स्ट्राइकर केलियन एमबाप्पे र इर्लिङ हल्यान्डलाई क्याम्प नोउ भित्राउने दौडमा नलागेको बताएका छन्।

खराब सुरुआत बाबजुद जाभीको आगमनपछि स्वभाविक लयमा फर्कदै बार्सिलोनाले यस सिजन ला लिगाको दोस्रो स्थान पक्का गरेको थियो। तत्कालीन प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तीमा परेपछि जाभीले आफ्नो पूर्वक्लबको प्रशिक्षण सम्हालेका थिए। यद्यपि लिगमा स्वभाविक लय अनुरूप प्रदर्शन गरे पनि बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन पुग्यो।

युरोपा लिगमा भने जाभीको टोली क्वार्टरफाइनलमा निराश भएको थियो। कोपा डेल रेमा पनि बार्सिलोनाको प्रभावशाली प्रदर्शन गर्न सकेन। सन् २०२१–२२ को सुरुआतमै क्लबले आर्थिक समस्याका कारण सम्झौता नवीकरण गर्न नसक्ने जनाएपछि लियोनल मेसी क्याम्प नोउबाट पेरिस सेन्ट जर्मन(पिएसजी) पुगेका थिए। त्यसयता बार्सिलोनाले स्वभाविक लय अनुरूपको प्रदर्शन गर्न सकेको थिएन।

ला लिगा च्याम्पियन रियाल मड्रिड एमबाप्पेलाई अनुबन्धन गर्न इच्छुक देखिएको छ। हल्यान्डलाई भने इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले अनुबन्धन गरिसकेको छ। जाभीले भने आफ्नो टोली उनीहरूलाई अनुबन्धन गर्न आर्थिक रूपमा सबल नभएको बताए। ‘एमबाप्पे र हल्यान्डलाई भित्राउने दौडमा हामी कहिले पनि लागेका छैनौं,’जाभीले भने, ‘हामी उनीहरूको अनुबन्धनमा मोटो रकम खर्च गर्न सक्ने क्षमता राख्दैनौं। 

प्रकाशित: ८ जेष्ठ २०७९ ०६:०४ आइतबार

इङ्लिस प्रिमियर लिग स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभी