खेल

युरोपा लिगः बाहिरियो बार्सिलोना

जर्मन बुन्डेसलिगाको नवौं स्थानमा रहेको इन्ट्य्राक्ट फ्य्रान्कफर्टसँग घरेलु मैदानमा समग्रमा ४–३ ले पराजित भएपछि स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको प्रतिस्पर्धामा बार्सिलोनालाई फाइदा भए पनि ३–२ को लज्जास्पद हार भोग्दा समग्रमा ४–३ ले पराजित हुँदा क्वार्टरफाइनलबाटै बाहिरिएको हो। पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो।

करिब २० हजार समर्थक भएको बार्सिलोनाको मैदानमा भ्रमणकारी टोली फ्य्रान्कफर्टले उत्कृष्ट खेल देखाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो। निकै रोमाञ्चक बनेको खेलमा फ्य्रान्कफर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे। बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरे पनि टोलीको हार टार्न असफल रहे।

खेलको चौथो मिनेटमा नै फिलिप कोस्टिकको पेनाल्टी गोलबाट भ्रमणकारी टोलीले अग्रता लिएको थियो। ३६औं मिनेटमा राफयल सान्तोष बोरले गोल गर्दै फ्य्रान्कफर्टको अग्रता दोब्बर पारे। ६७औं मिनेटमा फिलिपले दाइची कामदाको पासमा व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले पछि परेको थियो। त्यसपछि बार्सिलोनाले इन्जुरी समयमा दुई गोल गरे पनि जितको लागि पर्याप्त भएन।

८४औं मिनेटमा सर्जियो बुस्क्वेट्सको गोलले मान्यता पाएन। इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा बुस्क्वेट्सले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएका थिए। इन्जुरी समयको थप गरिएको १०औं मिनेटमा इभान एन डिका दोहोरो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्य्रान्कफर्ट १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले फाइदा उठाउन सकेन। त्यसमै प्राप्त पेनाल्टीमा मेम्फिस डिपाएले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए पनि बार्सिलोना खेलमा फर्किन असफल रह्यो।  

हारसँगै बार्सिलोनाको १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। बार्सिलोना गत जनवरीमा कोपा डेल रेमा एथलेटिको क्लबसँग ३–२ ले पराजित भएयता १५ खेलसम्म अपराजित रहेको थियो। युरोपा लिगबाट पनि बाहिरिएको बार्सिलोना यो सिजन उपाधिविहीन बन्नुपर्ने स्थिति छ। बार्सिलोना यसअघि च्याम्पियन्स लिग र कोपा डेल रेबाट पनि बाहिरिसकेको छ। स्पेनिस ला लिगाको मात्रै सम्भावना रहँदा बार्सिलोना शीर्ष स्थानको रियाल मड्रिडसँग १२ अंकले पछि छ।

यस्तै स्कर्टिस क्लब रेन्जर्स, प्रिमियर लिग क्लब क्लब वेस्ट ह्याम युनाइटेड र आरबी लिपजिकले पनि युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएका छन्। वेस्ट ह्यामले लियोनलाई समग्रमा ४–१, रेन्जर्सले बाग्रालाई समग्रमा ३–२ तथा लिपजिगले एटलान्टालाई ३–१ ले पराजित गरेका हुन्।

प्रकाशित: ३ वैशाख २०७९ ०२:२० शनिबार