खेल

कीर्तिमान भेट्टाउने सँघारमा जोकोभिच

इटालीका माटियो बारेन्टिनीलाई हराउँदै युएस ओपनको सेमिफाइनल प्रवेश गरेसँगै सर्बियाका नोभाक जोकोभिच ग्रान्ड स्लाम पुरुष एकलमा ५२ वर्षअघिको कीर्तिमान भेट्टाउने सँघारमा पुगेका छन्।  

जोकोभिच रड लाभरले सन् १९६९ मा अस्ट्रेलियन, विम्बल्डन, फ्रेन्च र युएस ओपन गरी एकै वर्ष ४ वटै ग्रान्ड स्लामको उपाधिको कीर्तिमान भेट्टाउने लक्ष्यमा छन्। सो लक्ष्य प्राप्तिमा जोकोभिच मात्र २ खेल टाढा छन्। बिहीबार भएको क्वार्टरफाइनलमा विश्व नम्बर एक जोकोभिचले बारेन्टिनीलाई ५–७, ६–२, ६–२, ६–३ को जितका साथ अन्तिम ४ मा स्थान पक्का गरेका हुन्। 

जुलाईमा भएको विम्बल्डनको फाइलनमा जोकोभिचले बारेन्टिनीलाई हराएका थिए। जोकोभिचको यो ग्रान्ड स्लाममा लगातार २६औं जित हो। ‘समग्रमा मेरो प्रदर्शन उत्कृष्ट रह्यो,’ जोकोभिचले भने, ‘बारेन्टिनीविरुद्धको अन्तिम तीन सेट मेरा लागि जारी प्रतियोगिताकै उत्कृष्ट हो ’ सेमिफाइनलमा जोकोभिचले टोकियो ओलम्पिक २०२० का स्वर्ण विजेता एलेक्जेन्डर जेभरेवको सामना गर्नेछन्। जेभरेवले ओलम्पिक सेमिफाइनलमा जोकोभिचलाई निराश पारेका थिए। ‘जेभरेव उत्कृष्ट लयमा छन् र लगातार जित्दै आइरहेका छन्,’ जोकोभिचले भने, उनी आजको समयमा विश्वकै उत्कृष्ट खेलाडी हुन्।

म हरेक चुनौतीको सामना गर्न तयार छु। जोकोभिचले यस वर्ष अस्ट्रेलियन, फ्रेन्च र विम्बल्डन ओपन भने जितिसकेका छन्। ‘मेरो ध्यान अर्को खेलमा केन्द्रित छ। मलाई इतिहासका बारेमा नसोध्नुस्,’ उनले भने, ‘हो म जीवनकै अविस्मरणीय कीर्तिमानको सँघारमा छु र त्यसबाट म दुई खेल मात्र टाढा छु। त्यसैले म आगामी खेलमा मात्र केन्द्रित छु। ’

जोकोभिचले यसअघि नै रोजर फेडेरर र राफाइल नाडालको नाममा रहेको २०औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गरिसकेका छन्। युएस ओपन उनका लागि कीर्तिमानी २१औं ग्रान्ड स्लाम हुनेछ। यससँगै जोकोभिच पुरुष एकलमा सर्वाधिक ग्रान्ड स्लाम जित्ने खेलाडीसमेत बन्नेछन्। चौथो वरीयताका जेभरेवले सेमिफइनलमा स्थान बनाउने क्रममा ४६औं वरीयताका लर्ड ह्यारिसमाथि ७–६ (८–६), ६–३, ६–४,को जित हात पारेका थिए।जेभरेव गत वर्ष युएस ओपनका उपविजेता हुन्। उनी गत वर्ष डोमिनिक थिमसँग पराजित भएका थिए। 

प्रकाशित: २५ भाद्र २०७८ ०२:११ शुक्रबार