खेल

युभेन्ट्सका खेलाडीसँग ट्रम्पले सोधे: महिलालाई पनि यो टिमबाट खेलाउन मिल्छ ?

रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सिसाओको समान दुई गोलमा युभेन्ट्सले क्लब विश्वकपमा अल ऐन क्लबमाथि रबाफिलो जित निकाल्दै सुखद सुरुवात गरेको छ।

ह्वाइट हाउस रहेको राज्य वासिङ्टनमा भएको समूह ‘जी’ को खेलमा इटालियन जायन्ट्स युभेन्ट्सले युएईको क्लब अल ऐनमाथि ५–० को फराकिलो जित निकाल्यो।

दिनको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न प्रतिनिधि पठाएको युभेन्ट्सले क्लब विश्वकपमा सुखद नतिजा पाएको छ।

यसै समूहमा म्यानचेस्टर सिटीले पनि वायडाड एसीलाई सहजै हरायो। युभेन्ट्सका खेलाडी र स्टाफले ट्रम्पलाई क्लबको जर्सी दिएपछि उनले के एउटी महिला पनि तपाईंहरूको टिममा खेल्न सक्छिन् भनेर प्रश्न गरेका थिए।

युभेन्ट्सका जनरल म्यानेजर डामियन कोमोलीले त्यसबारे उत्तर दिँदै भने ‘हामीसँग राम्रो महिला टिम पनि छ।’ त्यो प्रश्नमा युभेन्ट्सका खेलाडी भने शान्त नै देखिए। तर, १८ हजार समर्थक रहेको मैदानमा भने युभेन्ट्स युएईको क्लब अल ऐनमाथि पूर्णतया हाबी भयो।

‘हामी सधैं ह्वाइट हाउस जादैनौं। त्यसैले पनि त्यहाँ जाँदा केही दबाब महसुस भयो,’ युभेन्ट्सका प्रशिक्षक इगोर टुडोरले भने, ‘तर, खेलमा भने हामीले धेरै राम्रो गर्‍यौं। खेलमा प्रतिस्पर्धा पनि उत्कृष्ट रह्यो। सबै पक्षमा राम्रो सुरुवात भएको छ।’

यही क्लब विश्वकप खेल्नकै लागि कोलो मुआनीको पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लोनको समय बढाइएको थियो। ११औं मिनेटमा उनकै गोलबाट युभेन्ट्सले अग्रता पनि लिन सफल भयो।

अलबर्टो कोस्टाको क्रसमा उनले हेडरमार्फत गोल गरेका हुन्। १० मिनेटपछि नै युभेन्ट्सले अग्रता दोब्बर बनायो। यो गोल पनि पोर्टोबाट लोनमा आएका फ्रान्सिस्कोबाट सम्भव भयो। पेनाल्टी बक्समा एक डिफेन्डरलाई छक्याउँदै उनले गोल गरेका हुन्।

३१औं मिनेटमा टर्किस फरवार्ड केनान यल्डिजले युभेन्ट्सका लागि तेस्रो गोल गरे। पहिलो हाफ नसकिँदै युभेन्ट्सबाट चौथो गोल निस्कियो। फ्रेन्च स्ट्राइकर कोलो मुआनीले पहिलो हाफको थप समयमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

यससँगै युएईको क्लब अल ऐनले दबाब सामना गर्नुपर्‍यो। कौमे अटोनेले अल ऐनका लागि गोल गरे पनि त्यसले मान्यता पाएन। भारले त्यसलाई अफसाइड निर्णय दियो। तर, ५८औं मिनेटमा फ्रान्सिस्कोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ५–० ले अगाडि बढाए।

यसपछि कोलो मुआनीले ह्याट्रिक पूरा गर्ने अवसर पनि गुमाएका थिए। तर, अल ऐनका गोलकिपर रुइ प्याट्रिसियोले उनको प्रहार सफल हुन दिएनन्। युभेन्ट्सले सिरी ‘ए’ मा चौथो स्थानमा रहेर यस सिजनको अन्त्य गरेको थियो।

यस सिजन उपाधिविहीन बनेको युभेन्ट्सले क्लब विश्वकपमा ट्रफी उचाल्ने आशा गरिएको छ। ‘हाम्रो टोलीले राम्रो खेल खेल्यो। यो प्रदर्शनबाट खुसी छौं र आगामी खेलका लागि ध्यान केन्द्रित गर्नेछौं,’ कोलो मुआनीले भने, ‘क्लब र सहकर्मीसँग मेरो राम्रो भइरहेको छ। मैले गोल पनि गरिरहेको छु।’

अल ऐनले अब आगामी खेलमा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीसँग एटलान्टामा खेल्नेछ। जुन थप कठिन र चुनौतीपूर्ण प्रतिस्पर्धा हो।

‘युभेन्ट्सलाई सम्मान गर्छौं। तर, पनि हामीले सहज रूपमा २/३ को गोल गर्न दियौं,’ अल ऐनका सर्बियन प्रशिक्षक भ्लादिमिर इभिचले भने, ‘हामी क्लब विश्वकपमा छौं। त्यसैले राम्रो टोलीविरुद्ध खेल्नुपर्नेछ र त्यसका लागि तयार पनि छौं। आगामी खेलमा ध्यान दिएर खेल्छौं।’

प्रकाशित: ५ असार २०८२ २१:४५ बिहीबार