खेल

प्रतिभा माविलाई टि–२० क्रिकेट प्रतियोगिताको उपाधि

<br>

उपाधि विजेता प्रतिभा मावि। तस्बिरः नागरिक

पोखरामा भएको एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पियनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ। पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा आईतबार भएको उपाधि भिडन्तमा प्रतिभा माविले सिर्जना माविलाई ८ विकेटले पराजित गर्दै उपाधि चुमेको हो।

टस जितेर प्रतिभाले फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको सिर्जना माविले १४.४ ओभरमा १० विकेटको क्षतीमा ६० रन बनाएको थियो। प्रतिभा माविका बलरसामु सिर्जनाका व्याटर निरीह देखिएका थिए।

शुरुदेखि नै दवाबमा खेलेको सिर्जनाका व्याटरमध्ये अभय विक बाहेकले सम्हालिएर खेल्नै सकेनन्। अभय विकले १८ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।  

प्रतिभाका बलरहरुले सिर्जनाका ब्याटरहरुको व्याटिङ अर्डर ध्वस्त पारेका थिए। प्रतिभाका सरोज पौडेलले ४ तथा रेमिट शर्माले ३ विकेट लिएका थिए। ६१ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभा माविले केवल ५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। 

प्रतिभा माविका लागि सफल श्रेष्ठ एक्लैले ३९ रन बनाएपछि सहजै जित निस्केको थियो। पोखरा महानगरपालिका क्रिकेट संघले आयोजना गरेको यो प्रतियोगितामा पोखराभित्रका १२ वटा विद्यालय सहभागि थिए।  

प्रकाशित: २५ जेष्ठ २०८२ १३:१० आइतबार

प्रतिभा मावि टि–२० क्रिकेट च्याम्पियनसीप