खेल

कोहलीका लागि बन्ला त ‘लक्की १८’?

यसै हप्तादेखि इन्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनका प्लेअफ खेल सुरु हुँदा भारतीय क्रिकेट टोलीका स्टार विराट कोहलीको उपाधि जित्ने सपना पूरा हुन सक्नेछ।

कप्तानको रूपमा आइपिएल फाइनलमा हार बेहोरेको नौ वर्षपछि नै कोहलीका लागि उपाधि उचाल्ने अर्को अवसर यसै हप्ता प्राप्त भएको छ। कोहलीको टोली रोयल च्यालेन्जर्स बैंङ्गलुरुले बिहीबार मुलानपुरमा अंकतालिकाको शीर्ष टोली पन्जाब किङ्सको सामना गर्दै छ। मंगलबार बैंङ्गलुरुले २२८ रनको लक्ष्य भेट्टाउँदै लखनउ सुपर जायन्ट्समाथि जित निकालेपछि दोस्रो स्थान प्राप्त गरेको हो।

बिहीबार हुने विजेताले सीधै अहमदाबादमा आगामी जुन ३ मा हुने उपाधि भिडन्तका लागि स्थान बनाउनेछ। तर, यदि बैंङ्गलुरुले हार बेहोरेको अवस्थामा पनि फाइनलमा पुग्ने अर्को अवसर प्राप्त गर्नेछ। शुक्रबार हुने इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच हुने विजेताले फाइनलमा पुग्ने दोस्रो टोलीको रूपमा प्रतिस्पर्धा गर्नेछ। जुन, दोस्रो अवसरको पर्खाइमा बैंङ्गलुरु र कोहली हुने छैनन्।

३६ वर्षे कोहलीले टी ट्वान्टी र टेस्ट क्रिकेटको अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिइसकेका छन्। गत वर्ष भारतले टी  ट्वान्टी विश्वकप जितेपछि नै कोहलीले छोटो फरम्याटको क्रिकेटबाट संन्यास लिएका हुन्।

केही समयअगाडि उनी टेस्ट क्रिकेटबाट पनि बिदा लिइसके। तर, कोहलीका करियरमा आइपिएलको उपाधि खड्किएको छ। दुईपल्ट विश्वविजेता सदस्य उनी आइपिएल उपाधि पनि उचाल्दै करियरमा अर्को सफलता थप्न चाहन्छन्। ‘सन् २०१६ मा मेरा लागि दुईवटा दुखदायी स्थिति बन्यो,’ कोहलीले भने, ‘पहिलो थियो, टी ट्वान्टी विश्वकप र त्यसपछि आइपिएल फाइनलमा हार।’

भारतीय क्रिकेटमा उनी ‘किङ कोहली’ को उपनामले पनि परिचित छन्। आइपिएलको इतिहासमा पनि उनी सबैभन्दा धेरै रन (८६०६) बनाउने खेलाडी हुन्।

सन् २००८ मा आइपिएलको सुरुआत भएको हो। त्यसयता १८औं सिजन नै एउटै टोलीबाट खेल्न उनी एक मात्र खेलाडी हुन्। यसबीच उनी टोलीको महत्त्वपूर्ण सदस्य रहँदा बैंङ्गलुरुले सन् २००९, २०११ र २०१६ गरी तीनपल्ट फाइनलमा हार सामना गर्नुपरेको छ। तर यसपल्ट भने कोहलीका लागि फरक अवस्था आउने आशामा उनका समर्थक छन्। यो १८औं सिजन हो।

त्यसमा पनि कोहलीले लगाउने जर्सी पनि १८ नै रहेकाले यसपल्ट उनका लागि स्वर्णिम हुने समर्थकले उल्लेख गर्दै आएका छन्। समर्थकको विश्वासअनुरूप उनी पनि सफलता प्राप्त गर्न चाहन्छन्। कोहली अहिले उत्कृष्ट लयमा छन्। मंगलबार उनले लखनउविरुद्ध ५४ रन प्रहार गरेका थिए।

यस सिजन उनको यो आठौं अर्धशतक पनि हो। ६०.२० औसतमा गरेर उनले कुल ६०२ रन बटुलिसकेका छन्। तर, उनको लयसँगै टोलीका अन्य खेलाडीको प्रदर्शनले पनि उपाधि यात्रामा निर्भर गर्नेछ। पाकिस्तानसँगको द्वन्द्वका कारण बैंङ्गलुरुले प्लेअफमा केही विदेशी खेलाडी गुमाइसकेका छन्।

प्लेअफमा नै गुजरातसँग पनि इङ्ल्यान्डका जस बट्लर हुने छैनन्। देशका लागि अन्तर्राष्ट्रिय जिम्मेवारीका कारण उनले गुजरात छाडेका हुन्। तर, अस्ट्रेलियाका तीव्र गतिका बलर जस हेजलवुड आइतबार बैंङ्गलुरुमा फर्किएका छन्। सम्भवतः उनले बिहीबार नै खेल्ने सम्भावना छ। गत मे ९ मा आइपिएल केही समयका लागि स्थगित भएपछि उनी पनि बाहिरिएका थिए।

तर, उनको काँधमा समस्या रहेकाले प्लेअफ खेल्नेबारे भने दुविधा नै छ। विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको लागि तयारी र आइपिएलको प्लेअफ जुधेको छ। आगामी जुन ११ मा लर्डमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच उक्त फाइनल हुँदै छ। यसैको तयारीमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाका खेलाडी रहेकाले प्लेअफमा केही स्टार खेलाडी देखिने छैनन्।

लेफ्ट आर्म फास्ट बलर मार्को यानसनले यस सिजन पन्जाबका लागि राम्रो प्रदर्शन गर्दै आएका थिए। तर, उनी पनि पन्जाब छाडेर दक्षिण अफ्रिकाको प्रशिक्षण क्याम्पमा जोडिइसकेका छन्। ‘हरेक टोलीले महत्त्वपूर्ण खेलाडी गुमाउनुपरेको छ,’ पन्जाबका प्रशिक्षक रिकी पोन्टिङले भने, ‘तर हाम्रो बलिङमा युनिटमा राम्रो ब्याकअप छ। मार्को स्थानमा कोही खेलाडीले जिम्मेवारी पाउनेछन्।’

पाँचपल्टको विजेता मुम्बई इन्डियन्सको कप्तानीमा हार्दिक पांड्याले पनि आइपिएलको तालिका बढ्दा अन्तर्राष्ट्रिय क्यालेन्डरसँग जुधेको उल्लेख गरेका छन्। मुम्बईले पनि  इङ्ल्यान्डका विल ज्याक्स र दक्षिण अफ्रिकाका खेलाडीद्वय रयान रिकेल्टन र कोर्बिन बोस्चलाई प्लेअफमा गुमाउनेछ। सन् २०२२ को डेब्युमा नै आइपिएल उपाधि विजेता टाइटन्सका लागि पनि प्लेअफ यात्रा सहज हुने छैन। बटलरबिना टाइटन्सको ब्याटिङ लाइन कमजोर बन्न सक्नेछ।

यद्यपि, कप्तान शुभमन गिल र ओपनर साई सुदर्शन यस सिजन उत्कृष्ट लयमा रहकाले टाइटन्सका लागि अर्को सुखद पक्ष हो। रोहित शर्माको स्थानमा भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान बनेका शुभमनले यस सिजनमा ६७९ रन जोडेका छन्। साईले भने ६४९ रन बटुलेका छन्। गिलको कप्तानीमा भारतले आगामी जुन २० मा घरेलु टोली इङ्ल्यान्डसँग लिड्समा पाँच खेलको टेस्ट शृंखला सुरुआत गर्दै छ।  

प्रकाशित: १५ जेष्ठ २०८२ ०८:२० बिहीबार

# Nagarik # Indian cricket