खेल

युनाइटेडमा अझै आशावादी एमोरिम

युरोपा लिग फाइनलमा दुखलाग्दो नतिजापछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमले कुनै पनि क्षतिपूर्तिबिना नै क्लब छाड्ने तयार रहेको प्रतिक्रिया दिएका छन्।

युरोपा लिग फाइनलमा इङ्लिस प्रतिद्वन्द्वी टोटनहम हट्सपरसँग १–० ले हारेपछि प्रशिक्षक रुबेनले अब युनाइटेडले आफूलाई नचाहेको अवस्थामा बिनाक्षतिपूर्ति नै क्लब छाड्न तयार रहेको प्रतिक्रिया दिएका हुन्।

बिल्बाओमा भएको खेलको पहिलो हाफमा नै भएको टोटनहमका ब्रेनन जोनसनको एक मात्र गोल नै निर्णायक बनेपछि युनाइटेडको खराब सिजन बन्यो। त्यो गोलपछि युनाइटेड त्यसको जबाफ दिन नै असमर्थ रह्यो। यस सिजन युनाइटेडका लागि निकै बिर्सनलायक बन्यो। किनकि क्लबले सन् १८७४ मा इङ्लिस प्रिमियर लिगबाट रेलिगेसन भएपछि अहिलेसम्मकै खराब नतिजा यसपल्ट लिगमा सामना गर्नुपर्‍यो।

अब आइतबार एस्टन भिल्लासँग लिगको अन्तिम प्रतिस्पर्धा गर्नुअघि नै युनाइटेड लिगको १६औं स्थानमा छ। बिर्सनालायक सिजनपश्चात् भावुक बनेका एमोरिम लगातार खराब नतिजापछि पनि आफ्नो योजनाप्रति विश्वस्त देखिए। गत नोभेम्बरमा एरिक टेन हग बर्खास्तमा परेपछि उनले क्लब समालेका थिए। तर, एमोरिमले पनि क्लबलाई राम्रो लयमा ल्याउन सकेनन्।

स्पोर्टिङ लिस्बनका पूर्वप्रशिक्षकसमेत रहेका एमोरिमले युनाइटेड समालेपछि प्रिमियर लिगमा मात्र ६ जित दिलाएका छन्। तर, पनि ओल्ड ट्राफोर्डको क्लबलाई सही बाटोमा ल्याउन आफूसँग क्षमता रहेकोमा उनी विश्वस्त देखिए। यद्यपि, युनाइटेडले उनलाई नचाहेको खण्डमा भने क्षतिपूर्तिबारे बिना छलफल आफू छोड्न तयार रहेको उनको भनाइ छ।

‘यदि क्लब र समर्थकले म सही व्यक्ति होइन भन्ने ठाने भने लगत्तै अर्को दिन युनाइटेड छाड्न तयार छु। त्यो पनि क्षतिपूर्तिबिना नै,’ उनले भने, ‘तर यसै क्लब भने छाड्ने छैन। म मेरो जिम्मेवारीप्रति विश्वस्त छु। साथै मैले गरेका कामहरूका प्रक्रियामा पनि केही परिवर्तन हुने छैनन्।’

युनाइटेडमा उनको भविष्यबारे भने एमोरिम बोल्न चाहेनन्। तर, क्लब हारको अवस्थामा पनि आफू तयार गर्न सक्षम रहेको उनी बताउँछन्। ‘हामी अझै पनि राम्रो टोली हौं भन्न सक्छौं। तर, हामीले गोल गर्न भने सकेनौं। यस्तो अवस्थामा फुटबलका खेलमा जित निकाल्न सकिँदैन। खेलाडीले पनि जित निकाल्न हरेक तवरबाट धेरै प्रयास गरेका हुन्,’ उनले भने,‘अब भविष्यमा हामीसँग धेरै पक्षमा मूल्यांकन गर्न समय हुनेछ।’

उनी क्लबको जिम्मेवारीमा आउँदा युनाइटेड च्याम्पियन्स लिगको सम्भावना नजिक नै थियो। यद्यपि, अहिले युनाइटेड पाँचौं स्थानको चेल्सीभन्दा २७ अंकले पछि छ। आगामी सिजन २०१४/१५ पछि पहिलोपल्ट युनाइटेड युरोपियन फुटबलका प्रतिस्पर्धामा हुने छैन। ‘च्याम्पियन्स लिगमा क्लब नहुनु धेरै कठिन विषय हो भन्ने बुझेको छु,’ उनले भने, ‘तर हामीले अर्को कोणबाट पनि हेर्नुपर्छ। यदि हामीसँग धेरै समय छ भने त्यसबारे सोच्न धेरै अवसर पनि रहनेछ। अब प्रिमियर लिगबारे सोच्न समय पनि छ।’  

प्रकाशित: ९ जेष्ठ २०८२ ०७:४४ शुक्रबार

# Europa League Final # Sad result