पोखरा स्पोटर्स अवार्ड-२०८१ को नोमिनेसन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले वैशाख २६ गते पोखरा इभेन्ट सेन्टर बुलौंदी लेकसाइडमा आयोजना गर्ने पोखरा स्पोटर्स अवार्ड-२०८१ लागि चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।
मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, उदीयमान वर्षखेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३/३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो। वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) नोमिनेसनमा परेका छन्।
त्यस्तै वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा), भलिबलकी अरूणा शाही (कास्की) र आइटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापामगर (बागलुङ) परेका छन्। वर्ष उदीयमान खेलाडीमा एथलेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) नोमिनेसनमा परेको मञ्चका अध्यक्ष मानबहादुर घर्तीले जानकारी दिए। यसै गरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) नोमिनेसनमा परेका छन्।
मञ्चले वार्षिक रूपमा आयोजना गर्ने पोखरा स्पोटर्स अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ। बाँकी ३ विधा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलपत्रकार अवार्ड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनोट केही दिनपछि गरिने मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए।
मञ्चले वैशाख २६ गते पोखरा इभेन्ट सेन्टर बुलौंदी लेकसाइडमा पोखरा स्पोर्ट्स अवार्डको नवौं संस्करण आयोजना गर्दै छ। मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एकएक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ। त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष राजाराम पौडेलले जानकारी दिए।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको सहकार्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद् (गखेप), पोखरा महानगर खेलकुद परिषद्को सहयोगमा हुने अवार्डको तयारी तीव्र रूपमा भइरहेको छ।
प्रकाशित: १८ वैशाख २०८२ ०८:४९ बिहीबार



