खेल

कञ्चनजङ्घाको दक्षिणी आधार शिविरमा पहिलो पटक माउन्टेन साइक्लिङको सफल अभ्यास

माउन्टेन साइक्लिङमार्फत पहिलो पटक ४ युवा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविरसम्म पुगेका छन् ।

सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्गा महोत्सव २०८२ को अवसरमा ४ युवाहरू साइक्लिङ गर्दै ४ हजार ९ सय ९० मिटर उचाइसम्म पुगेका हुन् ।

महोत्सव आयोजक सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डा चित्रकुमार मावो लिम्बूका अनुसार ४ हजार ९ सय १० मिटर उचाइमा आधार शिविर रहेको छ । माउन्टेन साइक्लिङ टोली भने सो भन्दा ८० मिटर माथि पुगेर फर्किएको मावोले जानकारी दिए । सिरिजङ्गा गाउँपालिकाले महोत्सवकै अवसरमा माउन्टेन साइक्लिङ कार्यक्रम समेत समावेश गरेको थियो । धरानको एमटिबी ग्रुपका चार सदस्यहरू क्रमशः अविशेक मादेन,दीपसागर तामाङ,अनिष तामाङ र निमा शेर्पा माउन्टेन साइक्लिङमा सवार थिए । ओक्ताङदेखि पुन नयाँ थुङगिमसम्मको पदमार्गमा साइक्लिङ गरेका हुन्। सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान माउन्टेन साइक्लिङको सफल प्रयासले यो क्षेत्रमा माउन्टेन साइक्लिङको बलियो सम्भावना पुष्टि गरेको बताउँछन्।

‘माउन्टेन साइक्लिङमार्फत कञ्चनजङ्घाको दक्षिणी आधार शिविरसम्म पुग्ने पहिलो प्रयास नै सफल र भव्य भएको छ’ पालिका उपाध्यक्ष मावोले भने, ‘यसले सिरिजङ्गा गाउँपालिका हुँदै पुगिने दक्षिणी आधार शिविरमा माउन्टेन साइक्लिङको सम्भावना र भविष्य उजागर गरेको छ।’ गाउँपालिकाले समुद्र सतहबाट करिब ३ हजार ४ सय मिटर उचाइमा रहेको पालिकाको वडा नं ८ याम्फुदिनको नयाँ झोरेनीमा तीनदिने महोत्सव सम्पन्न गरेको छ। महोत्सवकै अवसरमा करिब ४ हजार ५ सय मिटर उचाइमा साहसिक हाफ म्याराथन प्रतियोगिता समेत गरिएको थियो। नयाँ झोरेनी–कस्तुरेडाँडा–झण्डेडाँडा–सिन्दुरे ढुङ्गा–तुप्लुङ,दुण्डुडाँडा–ढाँडचौकी–भेडीचौक हुँदै मछेवा पुग्नेगरी करिब २४ किलोमिटर दूरीमा साहसिक कञ्चनजङ्घा हाफ म्याराथन प्रतियोगिता भएको थियो। पालिकाले यस क्षेत्रमा साहसिक पदमार्ग समेत निर्माण गरेको छ ।

२०७४ सालको निर्वाचनबाट निर्वाचित पालिका अध्यक्ष टीकाराम गुरुङकै पालाबाट निर्माण सुरु भएको साहसिक कञ्चनजङ्घा पदमार्गलाई वर्तमान कार्यपालिकाले समेत निरन्तरता दिइरहेको छ । कञ्चनजङ्घा क्षेत्रको महत्त्व र यस क्षेत्रमा जाने साहसिक पदमार्ग समेतको प्रचारप्रसारलाई आधार मानेर पालिकाले यसबर्ष सिरिजङ्गा महोत्सव आयोजना गरेको गाउँपालिकाले जनाएको छ । याक र चौँरीको बलियो सम्भावना रहेको सिरिजङ्गा क्षेत्रमा याक र चौँरी प्रवर्द्धन कार्यक्रम समेत आयोजना गरिएको थियो। 

प्रकाशित: १७ वैशाख २०८२ १३:३० बुधबार