खेल

डोरिभल बने कोरिन्थियन्सको प्रशिक्षक

ब्राजिल फुटबल टोलीका पूर्वप्रशिक्षक डोरिभल जुनियरले घरेलु लिग क्लब कोरिन्थियन्ससँग सन् २०२६ को अन्तसम्म सम्झौता गरेका छन्।

पाँच पल्ट विश्व च्याम्पियन ब्राजिलको टोलीबाट बर्खास्त भएपछि उनले पहिलोपल्ट क्लब समालेका हुन्। विश्वकप छनोटअन्तर्गत गत मार्चमा अर्जेन्टिनासँग ४–१ को लज्ज्जापूर्ण हारपछि उनलाई बर्खास्त गरिएको हो। उनको प्रशिक्षणमा क्लबले आगामी बुधबार खेल्नेछ।

ब्राजिलियन कपअन्तर्गत कोरिन्थयन्सले नोभोरिजोन्टिनोविरुद्ध खेल्दा उनको लागि यो पहिलो खेल हुनेछ। ‘यो मेरो खेलका लागि महत्त्वपूर्ण क्षण हो। आशा छ मैले यो सिद्धान्तअनुरूप गर्नेछु,’ कोरिन्थियन्सको सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिसिडयोमा डोरिभलले भनेका छन्। उनले अर्जेन्टिनाका प्रशिक्षक रामोन डियाजको स्थान लिएका हुन्। डियाजलाई यसै महिना नै क्लबले बर्खास्त गरेको थियो।

कोरिन्थियन्सले स्ट्राइकर मेम्फिस डिपायलाई पनि क्लबमा अनुबन्ध गरेको छ। क्लब अहिले ब्राजिलियन लिगको अंकतालिकाको १२औं स्थानमा छ। अहिले ६ खेलबाट क्लबले सात अंक मात्र जोडेको छ। गत आइतबार पनि कोरिन्थियन्सले फ्लेमेङ्गोसँग ४–० ले हार सामना गरेको थियो। ब्राजिलको राष्ट्रिय टोलीमा खराब नतिजा दिलाएपछि डोरिभको १४ महिनाको करियर अन्त्य भएको हो।

ब्राजिल दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा चौथो स्थानमा छ। उनको स्थानमा अहिलेसम्म नयाँ प्रशिक्षण नियुक्त भएको छैन। रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी र अल हिलालका प्रशिक्षक जर्ज जेसुसको नाम ब्राजिलको टोलीसँग जोडिएको छ। जेसुस नै यो पदका लागि प्रबल दाबेदार रहेको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरिरहेको छ।  

प्रकाशित: १७ वैशाख २०८२ ०६:४० बुधबार

# Nagarik # Khelkud