पाहुना टिम भुटानको समत्से फुटबल क्लबलाई स्तब्ध पार्दै च्याम्पिएन ब्वाईज काठमाडौँ कटारीमा जारी ‘पाँचौ मेयर गोल्डकप प्रतियोगिता ०८१’को सेमिफाइनलमा प्रवेश गरेको छ । कटारी टाईगर मैदानमा सोमबार भुटानलाई ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पिएन ब्वाईज सेमिफाइनलमा प्रवेश गरेको हो ।
च्याम्पिएनका लागि २३ औँ र २८औं मिनटमा सुरज राउतले २ र सातौं मिनेटमा उमेश ढुङ्गानाले गोल गरे । यद्यपि अग्रता भने आयुस डुक्पाको गोलबाट भुटानले छैटौं मिनेटमा लिएको थियो ।
म्यान अफ द म्याच सुरज राउत घोषित भए । उनलाई कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले नगद ३ हजार पुरस्कार प्रदान गरे ।
मङ्गलबार हुने पहिलो चरणको अन्तिम खेलमा सर्लाहीको बागमती फुटबल क्लब र सिराहाको सहलेश फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनलका खेलहरु फागुन १४ र १५ गते तथा फाइनल १७ गते हुने आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले बताए ।
प्रकाशित: १२ फाल्गुन २०८१ १९:४० सोमबार