खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित ‘पाँचौँ अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि, मङ्गलटार विजयी भएको छ।
चार दिनसम्म चलेको प्रतियोगितामा पिपलडाँडाले ६ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै शिल्ड पक्का गरेको हो।
हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयको संयोजनमा नगरपालिकाले आयोजना गरेको यस प्रतियोगितामा पिपलडाँडाले ह्याट्रिक जित हासिल गर्दै शिल्ड आफ्नो बनाउन सफल भयो। खेल संयोजक मिलन कसजुका अनुसार पिपलडाँडाले यसअघि दुईपटक लगातार शिल्ड जितिसकेको थियो।
३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा गराइएको प्रतियोगितामा विभिन्न १५ विधाका खेल समावेश थिए। दोस्रो स्थानमा बुलापन्थे मावि, धितुङले ५ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्यो भने तेस्रो स्थानमा ज्योति मावि, राजापानीले ४ स्वर्ण, ५ रजत र ४ कास्य पदक हात पार्यो। अन्य विद्यालयले पनि आ–आफ्नो प्रदर्शनका आधारमा पदक प्राप्त गरे।
समापन समारोहका अवसरमा नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले विजेता विद्यालयलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे। अन्य सहभागी विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।
शिल्ड वितरण समारोहमा मेयर राईले नगरपालिकाले शैक्षिक गुणस्तर र खेलकुदको विकासका लागि वर्षेनी राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको बताइन्। उनले भौतिक विकाससँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खेलकुदलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
‘नगरपालिकाको एकल प्रयासले मात्र शैक्षिक सुधार सम्भव छैन,’ मेयर राईले भनिन्, ‘सबै राजनीतिक दल, क्षेत्र र समुदायको सहकार्य आवश्यक छ।’ उनले विजेता खेलाडीको खेलस्तर अझै उन्नत बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
१३ वटा सामुदायिक र १ निजी विद्यालय सहभागी यस प्रतियोगिता ७ लाख रुपैयाँको बजेटमा सम्पन्न गरिएको थियो। आयोजकले सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खाना, खाजा र बासको व्यवस्थासमेत गरेको थियो।
प्रकाशित: ५ माघ २०८१ १५:०२ शनिबार