खेल

न्यू स्टार क्लब दोस्रो कञ्चनजंघा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा

न्यू स्टार क्लब बिर्तामोड झापा ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलवार भएको अन्तिम क्वाटर फाइनलमा न्यू स्टार क्लब बिर्तामोड झापाले फिदिम स्पोर्टिङ क्लब पाँचथर विरुद्ध २–१ जीत निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

सेमिफाइनल पुग्ने क्रममा न्यू स्टार क्लबका डानियलले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता बनाए। तर उनले बनाएको गोलको अग्रता धेरै लामो टिकेन। मध्यान्तर हुनै लाग्दा फिदिमका लागि निर्देशन राईले गोल गर्दै टिमलाई बराबरीमा ल्याए। बराबरी भएको खेलको मध्यान्तर पछिको खेलमा दुबै टिमले आक्रामक खेल खेले। खेलको अन्त्यतिर न्यू स्टारका लागि अरमानले गोल गर्दै आफ्नो टिमलाई जीत नजिक पु¥याए। खेलमा फर्कने फिदिमको प्रयास असफल भएसँगै खेल न्यू स्टारले २–१ ले आफ्नो पक्षमा पा¥यो। न्यू स्टार डानियल र अरमान दुई विदेशी खेलाडी सहितका उत्कृष्ट खेल खेल्ने खेलाडी प्रेरित टोली थियो।

बुधवार हुने पहिलो सेमिफाइनलमा गोधुली फुटबल क्लब धरान सुनसरीको भिडन्त तेह्रथुमको सन्दु फुटबल क्लबसँग हुने छ। सम्दु पहिलो क्वाटर फाइनलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई सडनडेथमा पराजित गर्दै सेमिफाइनल पुगेको हो भने गोधुलीले दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको एक मात्र अन्तर्राष्ट्रिय टिम भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लबलाई २–० ले हराएर सेमिफाइनल पुगेको हो। प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ तथा उपविजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन्।   

प्रकाशित: १८ मंसिर २०८१ १७:३१ मंगलबार