ताप्लेजुङमा सोमबारदेखि सुरु हुने ‘दोस्रो ताप्लेजुङ गोल्डकप’ फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले प्रतियोगितास्थलको तयारी सम्पन्न भएको जानकारी दिएका छन्। यस पटक स्थायी र अस्थायी गरी १२ हजारभन्दा बढी दर्शकलाई समेट्न सक्ने क्षमताको प्याराफिट निर्माण गरिएको छ।
खेलमैदान व्यवस्थापनदेखि सम्पूर्ण तयारी पूरा भएको गुरुङले बताए। यस पटकको गोल्डकपको उद्घाटन समारोहमा कुनै विशेष अतिथि वा बिशिष्ट अतिथिलाई मञ्चमा बोलाई भाषण नगराउने समेत निर्णय गरिएको छ।
सबै अतिथिलाई मञ्चमा मर्यादाक्रम अनुसार आसन दिने र अध्यक्षले मात्र औपचारिक रुपमा खेल सुरु गर्नेछन्। खेलाडीहरूको ध्यान खेलमै केन्द्रीत रहोस् भन्नका लागि यस पटक भाषणलाई सीमित राखिएको अध्यक्ष गुरुङले जानकारी दिए।
प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ। पहिलो दिन गृह टोली संघर्ष स्पोर्टिङ क्लबले भारतको सिलगुढीस्थित कञ्चनजंघा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
४ गते समूह ‘बी’ अन्तर्गत पाँचथर फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच भिडन्त हुनेछ। समूह ‘ए’ मा रहेको बुटवल लुम्बिनी फुटबल क्लबले ५ गते सगरमाथा युथ क्लब मोरङसँग खेल्नेछ।
यस्तै, ६ गते त्रिभुवन आर्मी क्लबले बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमीफाइनल ७ गते र दोस्रो सेमीफाइनल ८ गते हुनेछ भने १० गते उपाधि भिडन्त हुनेछ।
प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
पहिलो संस्करणमा विजेताले ३ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ पाएका थिए। यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको छ।
विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट गोलकर्ता, फरवार्ड, उदयमान खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, र कोचलाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रकाशित: २ भाद्र २०८१ १४:२५ आइतबार