खेल

ताप्लेजुङ गोल्डकप: सुनसरीको जुट विकास फाइनलमा

ताप्लेजुङ गोल्डकपको पहिलो सेमीफाईनल खेल्दै पथरी–११ स्पोटिङ क्लव मोरङ (रातो जर्सीमा ) र जुट विकास फुटबल एकेडेमी ईटहरी सुनसरी (कालो जर्सीमा) तस्बिर: खगेन्द्र/नागरिक।

ट्राईबेक्ररमा पथरी–११ स्पोटिङ क्लब मोरङलाई पराजित गर्दै जुट विकास फुटबल एकेडेमी सुनसरी ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको फाइनलमा पुगेको छ।

ट्राईबेक्ररमा जुट विकास फुटबल एकेडेमीले पथरी–११ स्पोटिङ क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्‍यो। निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय ट्राईबेकरबाट लिइएको थियो।

दुवै टिम आक्रामक देखिएको सोमबारको खेलमा रेफ्री दिपेश लिम्बूले ६ वटा पहेँलो कार्ड प्रयोग गरेका थिए। पहिलो हाफमै ५ वटा पहेँलो कार्ड प्रयोग भएको थियो। फाइनल यात्राका लागि दोस्रो सेमिफाइनल खेलमा मंगलबार रेडस्टार फुटबल क्लब बिर्तामोड झापा र रेडहर्ष फुटबल क्लब इलाम आमने–सामने हुँदै छन्।

यी दुई टिमबिचको विजेतासँग जुट विकास फुटबल एकेडेमीको उपाधि भिडन्त हुने छ। प्रतियोगिताका विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता हुनेले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

क्वाटर फाइनलका ४ खेलमा जनही १ सय रुपैयाँ प्रवेश शुल्क तोकेको लाखे जात्रा सञ्चालन समितिले सेमिफाइनलका दुई खेलका लागि भने जनही २ सय रुपैयाँ निर्धारण गरेको छ। फाइनल दिनका लागि भने दर्शकका लागि जनही २ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिएका छन्। क्वाटर फाइनलका ४ दिनको खेलबाट आयोजकले करिब साढे ६ लाख रुपैयाँ संकलन गरेको समेत आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १८ भाद्र २०८० १३:१७ सोमबार