पोखरामा कात्तिक १४ देखि १७ गतेसम्म ११औँ राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता आयोजना हुने भएको छ। गण्डकी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा महिला र पुरुषतर्फ आठ–आठ टोली सहभागी हुनेछन्।
गण्डकी प्रदेश सेपाकताक्रो संघको आयोजना तथा नेपाल सेपाकताक्रो संघको सहयोगमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिताबारे आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
प्रतियोगितामा विभागीय टोली नेपाली सेनासहित सातवटै प्रदेशका महिला तथा पुरुष टोलीले प्रतिस्पर्धा गर्ने गण्डकी प्रदेश सेपाकताक्रो संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा पुरुषतर्फ टिम रेगु, रेगु, क्वाड, डबल र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ भने रेगु र क्वाड विधामा खेल सञ्चालन गरिनेछ।
नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङले खेलको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय प्रतियोगिता हुन लागेकाले पोखरामा सेपाकताक्रोप्रति आकर्षण बढ्ने र व्यावसायिक रूपमा खेल सञ्चालन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।
प्रतियोगिता आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका दृष्टिले पनि महत्त्वपूर्ण हुने गुरुङको भनाइ छ। राष्ट्रिय खेलकुदअघि आयोजना हुने प्रतियोगिताले प्रदेश तथा विभागीय टोलीलाई आफ्नो खेलस्तर परीक्षण गर्ने र प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने उनले बताए।
प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उनीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा सहभागी अन्य टोलीलाई सान्त्वनास्वरूप २० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।
प्रकाशित: १२ कार्तिक २०८३ १९:२९ बिहीबार