समाज

१९ दिनको पैदल यात्रा, अटुट संकल्पको जितः काठमाडौंबाट पाथीभरा पुगे बैतडीका प्रशान्त

सुदूरपश्चिमको बैतडीका एक युवाले काठमाडौंबाट हिँडेरै १९ दिनको अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन्।

काठमाडौंबाट हिँडेको १८ औं दिनमा पाथीभरा क्षेत्रस्थित माथिल्लो फेदी आएर बसेका बैतडीको पुर्चौडी नगरपालिकाका प्रशान्त ढुङ्गेलले १९ औं दिनमा ३ हजार ७९४ मिटर उचाइको पाथीभरा मन्दिर दर्शन गरेका हुन्। काठमाडौंबाट पदयात्रामै ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि आएका ढुङ्गेललाई पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिर अंकित मायाको चिनो प्रदान गर्दै स्वागत गरेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले कठिन र लामो अवधिको पदयात्रामार्फत पाथीभरा मन्दिरको दर्शनका लागि आएका ढुङ्गेललाई क्षेत्र विकास समितिको तर्फबाट विशेष सम्मान गरिएको जानकारी दिए। ढुङ्गेलले काठमाडौंबाट हिँडेरै गएर पाथीभरा मन्दिरको दर्शन गर्ने आफ्नो संकल्प पूरा भएकोमा प्रसन्नता व्यक्ति गरेका छन्। 

विश्वास र आस्थाकी देवीको रूपमा परिचित पाथीभरा मन्दिरमा भाकल गरे पूरा हुने जनविश्वास रही आएको छ। मन्दिरमा पुगेर मागिएको मनोकांक्षा पूरा हुने विश्वासका साथ वर्सेनि लाखौं संख्यामा स्वदेशी तथा विदेशी धर्मावलम्बीहरूले पाथीभराको दर्शन तथा पूजाअर्चना गर्ने गरेका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ १३:०१ बिहीबार