समाज

वाटरफ्रन्टका संचालक शाक्यको प्रश्नः हामीमाथि कठोर प्रहार किन?

सरकारले फेवातालको मापदण्डभित्रका संरचना भत्काउने क्रममा शनिबार वाटरफ्रन्ट होटलको केही संरचना पनि हटाएको थियो। होटलका संरचना हटाएपछि होटलका लगानीकर्ता कर्ण शाक्यले आपत्ति जनाएका छन्।  

शाक्यले भनेका छन, ‘पोखराको वाटरफ्रन्ट होटल केवल व्यवसाय होइन, यो हाम्रो विश्वास, संघर्ष र आस्थाको प्रतिक हो। बिसवर्ष पहिले, माओवादी आन्दोलनताका जब देशमा तन, मन र धन पलायन भयो, तर मैले स्वदेशमै पर्यटन व्यवसायमा लाग्ने निर्णय गरें।’

सामाजिक सञ्जाल शाक्यले भनेका छन, ‘म र मेरो मित्र दिवाकर राजकर्निकारले फेवाताल नजिकै पोखरेली रैथाने उद्यमीसँग ‘बुद्ध लज’ सहितको १७ रोपनी जग्गा किनेर अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण ग¥यौं। यो हाम्रो सपना, बिपना, पसिना र विश्वासले साकार हो। तर शनिबार बिहान सबेरै, कुनै पूर्वसूचना बिना नगरपालिका होटलको पर्खाल भत्काउन आयो। हाम्रो मनमा गहिरो पीडा र चिन्ता जाग्यो। अहिले त ‘टुरिस्ट सिजन’ को समय हो, होटल पाहुनाले भरिएको छ। यति सबेरै पहिलो निशानामा हाम्रो होटल किन ? के हामी खराब उद्यमी हौं र?

शाक्यका बुझाईमा ६५ मिटरको मापदण्ड कुनै निजी मुद्दा होइन, यो राष्ट्रिय सरोकारको विषय हो। ‘नीति ठीक छ कि छैन, आफ्नो ठाउँमा छ। तर होटलले कुनै नियम उल्लंघन गरेको छैन। जग्गा मिचेको छैन। लालपुर्जा छ, नक्सा पास छ। पर्यटन विभागको लाइसेन्स छ। उद्योग विभागको प्रमाणपत्र छ। राष्ट्र बैंकको इजाजतपत्र सबै छ,’ शाक्यले भनेका छन, ‘हामीले हरेक वर्ष कर तिरेका छौं। कुनै बैकको ऋण छैन। एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौं। तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’

लेकसाइड क्षेत्रमा हजारौं बस्ती, उद्योग, व्यापार, होटल र रेस्टुरेन्ट अवस्थित रहेको र त्यस्ता संरचना र जग्गा उचित मुआवजा दिएर विधिवत रुपमा अधिग्रहण नगरी, पूर्वसूचना बिना भत्काउनु कसरी जायज ठहरिन सक्छ? के यस्तो कार्यप्रणालीलाई न्यायसंगत मान्न सकिन्छ? शाक्यको प्रश्न छ।

पर्यटकीय नगरीमा विकासका लागि संरक्षण निती अपनाउनुपर्ने उनको सुझाव छ। ‘जहाँ संरक्षणले विकासलाई रोक्ने होइन, टेवा दिने हो। कोठामा झिंगा आयो भनेर झ्याल बन्द गर्ने होइन, जाली लगाउने हो,’ शाक्यको भनाई छ।

प्रकाशित: २२ चैत्र २०८२ १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App