समाज

सामुदायिक विद्यालयका एकसय बालबालिकालाई न्यानो कपडा

यहाँका एक युवा कानुन व्यवसायीले स्थानीय ३ वटा सामुदायिक विद्यालयका झण्डै सयजना बालबालिकालाई जाडो छल्ने न्यानो कपडा वितरण गरेका छन् । जिल्लाको जन्तेढुङ्गा गाउँपालिका ६ दिप्लुङ छुप्लुङ स्थायी घरभई बेलायतमा वकालत गर्दै आएका अधिवक्ता चण्डीराज राईले स्वर्गीय आमाको स्मृतिमा विभिन्न विद्यालयका ९४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।  

अधिवक्ता राईले आमा आनन्दीमाया राईको स्मृतिमा जन्तेढुङ्गा ६ दिप्लुङस्थित भानु आधारभूत विद्यालय हलहलेका ६०, पृथ्वी आधारभूत विद्यालय बाबलका २१ ज्ना तथा सिद्धेवरी आधारभूत विद्यालय केराबारीका १३ बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएका हुन् । स्थानीय जगत किराती राईका अनुसार आमाको स्मृतिमा आफू जन्मेको गाउँका स्कुलमा पढ्दै गरेका विद्यार्थीलाई ट्रयाकसुट उपलब्ध गराएका हुन् ।

जाडो याममा बालबालिकालाई पठनपाठन गर्न गाह्रो भईरहेको खवर पाएपछि बाल्यकालको स्मरण गर्दै अधिवक्ता राईले न्यानो कपडा वितरण गर्न उपलब्ध गराएको किरातीले बताए । उनका अनुसार बिकट र अनकन्टार ठाउँमा पढ्ने बालबालिकालाई अभिभावकले न्यानो कपडा लगाईदिन नसक्ने अवस्था बुझेर सो कार्य गरेको उनले बताए । 

प्रकाशित: १३ माघ २०८२ १७:५८ मंगलबार