ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पर्ने काबेली नदीमा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको करिब ५ किलोमिटर लामो हेडरेस सुरुङमार्गमा ब्रेक थु भएको छ।
आयोजनाले इन्टेक देखि अडिटसम्मको १ हजार ७ सय ७२ मिटर लामो सुरुङमार्ग गत साउन महिनाको पहिलो साता ब्रेक थु गरेको थियो। सुरुङ मार्गमा एकपछि अर्को सफलता पाएसँगै आयोजनाले आफूलाई सम्पन्नताको नजिक बनाएको छ।
२८ दशमलव १ मेगावाट क्षमताको जलविद्युत आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाका अनुसार ४ हजार ८ सय ९६ मिटर लामो हेडरेस सुरुङमार्ग सम्पन्न गरिएको हो। हेडवर्क सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा र विद्युत् गृह सिनाममा हुनेछ।
आयोजनाका लागि खोयाहाङ देखि सिनामसम्म हेडरेस सुरुङमार्ग थियो। पिस इनर्जी कम्पनी प्रालि आयोजनाको मुख्य प्रवर्द्धक रहेको छ। पिस इनर्जी अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी हो।
सिरिजङ्गा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन्। आयोजनाका लागि कुल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
कुल लागत अनुमानमध्ये ७५ प्रतिशत हिस्सा नेपाली बैङ्कहरूको ऋण लगानी रहने छ भने २५ प्रतिशत हिस्सा प्रवर्द्धकको स्वपुँजी रहने भएको छ। माछापुच्छ्रे बैंकको अगुवाइमा बैकहरूले ऋण लगानी गरिरहेका छन्।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल),राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंक ऋण लगानीका साझेदार वित्तीय निकाय हुने प्रवर्द्धक कम्पनीले जनाएको छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १७:२१ मंगलबार