जुम्लाकाे चन्दननाथ नगरपालिका–१० खल्लागाउँबाट वडा नं. ९ उमगाडतर्फ तिला नदी पार गर्ने क्रममा स्काइभेटर नदीको बीच भागमा भासिँदा त्यसमा सवार दुई जनाको सकुशल उद्धार गरिएको छ।
बुधबार साँझ करिब साढे ७ बजे ठूलो वर्षापछि तिला नदीको बहाव एक्कासि बढ्दा नदी पार गर्दै गरेको स्काइभेटर बीचमै बन्द भएर भासिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। स्काइभेटरमा कालिकोटको पलाता गाउँपालिका–४ का २७ वर्षीय चालक आर्यन विक र चन्दननाथ नगरपालिका–३ जुम्लाका १८ वर्षीय सहचालक आकाश सुनार सवार थिए।
नदीको बहाव बढेपछि स्काइभेटर नियन्त्रणमा लिन नसक्दा उनीहरू जोखिममा परेका थिए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले जोखिम मोलेर उद्धार कार्य अघि बढाउँदै स्काइभेटरमा फसेका दुवै जनालाई सकुशल बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालले बताए।
ठूलो वर्षापछि तिला नदीमा पानीको सतह र बहाव अचानक बढेकाले नदी तथा खोल्सा पार गर्दा थप सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। क्याप्सन: उद्वार गरिएको तस्बिर : प्रहरी कार्यालय जुम्ला !
प्रकाशित: २८ श्रावण २०८३ ०९:५७ बिहीबार