समाज

जुम्ली युवाको लाेभलाग्दाे तरकारी खेती

हिजोआज प्रायःजसो युवायुवतीहरू रोजगारीका लागि विदेशिन लालायीत हुन्छन्।दिनप्रतिदिन हजारौं युवायुवती विदेशकाे यात्रामा उडान गरिरहेको देखिन्छन् तर जुम्लाको तातोपानी गाउँपालिका-२ हस्त बुढा विदेश जाने सपना त्यागेर गाउँमै तरकारी फलाइरहेका छन्।

तरकारी उत्पादनबाट हस्तले आम्दानीकाे स्रोत बलियो भएको छ। बुढाको दिनचर्या आजभोलि केही फरक छ। बारीमा लटरम्म तरकारी बजारमा पुर्याउन भ्याइनभ्याइ छ। ७ हजार ६ सय २० वर्गमिटर क्षेत्रफलमा सामुहिक तरकारी लगाएको बताउँछन्। 'आजभोलि सधैंभन्दा धेरै काम गर्नुपर्छ। अरू बेला काम त गर्नुपर्छ तर धेरै र गाह्रो काम हुँदैन', हस्तले भने, 'गाउँघरमा कामले भने कहिल्यै छाड्दैन।'

बारीमा गोलभेँडा (टमाटर) , प्याज, आलु, काउली, बन्दा, फर्सी, धनिँया, सागपात, भान्टा, काक्राँ, खुर्सानी लगाइएको छ।'

हस्तले भने, 'विदेश जाने मन नभएकाे हैन तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि मन गाउँमै अडियो।'

विदेश जानचाहिँ खोजेको हुँ तर पछि मन लागेन। लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ', हस्तले भने, 'परिवारसँगै बसेर केही आम्दानी हुँदैछ भने किन विदेश जाने भन्ने लाग्यो। विदेश गए पनि उत्तिकै दुख गर्नुपर्छ होला भन्ने लाग्छ।'

यस्तै उक्त गाउँकी भगवती रावलकाे पनि समय प्रायः बारीमै बित्ने गर्छ। तरकारीमा मलजल, पानी, झार उखेल्नेदेखि टिपेर लैजानेसम्म भ्याउँछिन्। प्रशस्त धन कमाउन विदेशै जानुपर्छ भन्ने मान्यता बोकेका युवायुवतीलाई रावलले चुनौती मार्गदर्शक बनेकी छन्।

उनले भनिन् , ‘धन कमाउन युवा बिदेसिने क्रम बढेको छ, मेहनत गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ।’

आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु रावलकाे दिनचर्या हो। अहिले उनलाई तरकारी खेतीमा भ्याइनभ्याई छ। तरकारीले मनै आनन्दित बनाउने गरेको उनको भनाइ छ।

टिपेका तरकारी जुम्लाको सदरमुकाम खलंगा, छिमेकी जिल्ला कालिकोट सिमाना पर्ने नाग्मा बजार, तातोपानी गाउँपालिका स्थानीय बजार र  हाेटलमा लैजाने गर्दछ। प्रति किसानले २ लाख बढी कमाउँछन्। गाउँमै गाडी पुगेका कारण तरकारी बजारसम्म लैजान सजिलो भएको भगवती बताउँछिन्।

फाँटिलाे जमीनमा लाेभलाग्दाे देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ। कर्णाली राजमार्गदेखि करिब ३ मिनेट जति हिंडेपछि पुग्न सकिन्छ।

आधुनिक पद्धतिबाट तरकारी खेती गर्ने क्रम बढेको छ। व्यावसायिक तरकारी खेतीमा होमिएका उनीहरूलाई पोषण तथा खाद्य सुधारका लागि प्रवर्द्धन गर्न प्रवर्द्धन गरिएका जलवायु मैत्री कृषि प्रविधिहरू युएनडिपीको आर्थिक सहयोग तथा तातोपानी गाउँपालिका र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित कृषि खाद्य प्रणालीकाे लागि नवीकरणीय उर्जाले सिँचाइ प्लास्टिक टनेल, फलामे , फलामे खम्बासहितको थाेपा प्रविधि सेट, झाेल मल ड्रम सेट, गाेठ सुधारका लागि म्याट, पहेँलो स्टिकी टर्याप, टेकाे दिने डाेरी र उन्नत बिउ पाएका छन्।

यता पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेकाे अनुसार तरकारी खेतीलाई चाहिने प्राविधिक सहयोग र तालिम पनि दिइएको छ। तरकारीको किसान आम्दानीबाट दैनिक घरखर्च टार्ने तथा बालबच्चा पढाउँछन्। व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने बताउँछन्।

उक्त गाउँका २८ किसानले तरकारी उत्पादन गरे पनि व्यक्तिगत रूपमै लिने गरेका छन्। यस्तै जुम्लाको चन्दननाथ नगरपालिका १ का २२ किसानले पनि एकै प्लटमा सामूहिक खेती गर्दै छन्। किसानले आलु, प्याज, गोलभेंडा, बन्दा, काउली, साग, धनियाँ, मुला, गाँजर, भन्टा, फर्सी, काँक्रो, खुर्सानी लगायतका खेती गर्दै छन्।

कुल ५० युवायुवती किसानलाई व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बनाउन हार्डवेयर तथा सफ्टवेयरका क्षेत्रमा ६४ लाख २५ हजार लगानी छ। ‘गाईभैंसीको पिसाब संकलन गरेर जैविक विषादी बनाएर तरकारी खेतीमा प्रयोग गर्छन्।

यस्तै जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले खेतबारीमा जैविक मल प्रयोग गर्न गाेठ सुधार कार्यक्रम सुरुवात गरिएकाे बताए।

उक्त कार्यक्रमबाट गाेवर र पिसाब संकलन गरेर गाेठेमल बनाउन लागिएको बताए। यसको उद्देश्य खेतीपाती र विषादी प्रयोग नगरून् भन्ने हो। उनले भने नीतिमै विषादीमुक्त गाउँपालिका घाेषणा गर्ने  जैविक मल उत्पादन गर्ने समेटिएको छ। यो कार्यक्रम अन्य वडामा पनि लागु गरिने बताए।

प्रकाशित: ११ श्रावण २०८२ ११:०७ आइतबार

Nagariknews