सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा विगत तीन महिनायता प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन १० गतेको निर्णय अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाको सरुवा गरे पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिकाको कामकाज प्रभावित भएको हो।
पहिलेका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको सरुवा गरेर सरकारले उपसचिव इश्वरीदत्त पनेरुलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाउने निर्णय गरेको थियो। तर, निर्णयको तीन महिना बितिसक्दासम्म पनेरु हाजीर नहुँदा नगरपालिकाको आर्थिक कारोबारसँगै अन्य महत्वपूर्ण निर्णयहरू गर्न नपाएर कामकाजमा नकारात्मक प्रभाव परेको नगरप्रमुख बसन्त बस्नेतले बताए।
बस्नेतका अनुसार प्रमुख प्रशासकीय अधिकृत अभावमा आर्थिक कारोबारदेखि कतिपय अन्य महत्वपूर्ण निर्णयहरू गर्न नपाउँदा कामकाज प्रभावित भएको छ। उनका अनुसार आर्थिक कारोबार मात्र नभएर विशिष्ट अवस्थाको निर्णय गर्न तथा विभिन्न नीतिगत कामको गाँठो फुकाउन पनि प्रमुख प्रशासकीय अधिकृत अनिवार्य आवश्यक पर्ने कानुनी प्रावधान भएकाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरका धेरै कामकाज प्रभावित हुँदै आएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कोइरालाको ठाउँमा खटाइएको पनेरु तीन महिनासम्म नआउँदा नगरपालिकाको समग्र कामकाजमा समस्या परेपछि मेयर बस्नेतले निमित्तबाट काम चलाउने प्रयास गरेको तर, मन्त्रालयले नमान्दा झन् समस्या परेको बताए।
मन्त्रालयले सरुवा गरेको पनेरु तीन महिनासम्म हाजीर नभएपछि नगरपालिकाको आर्थिक कारोबार र अन्य महत्वपूर्ण निर्णयहरू गर्न नपाएको भन्दै नगरपालिकाकै वरिष्टतम अधिृकतलाई कामकाजका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्न पनि आग्रह गरेको थियो।
एक महिनासम्म पनेरु हाजीर नभएपछि नगरपालिकाले अर्को अधिकृत पठाउन मन्त्रालयलाई माग गर्दै लिखित र मौखिक आग्रह गरेको तर पनि सुनुवाइ नभएको मेयर बस्नेतको दुखेसो छ। लिखित र मौखिक आग्रह गर्दा नभएपछि कार्यपालिका बैठक राखेरै नगरपालिकाका आठौँ तहका वरिष्ठतम् अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउन मन्त्रालयमा पत्राचार गरेको उनले बताए।
साउन १० गतेको निर्णयमा त्रियुगामा सरुवामा परेका पनेरु भदौ १० गतेसम्म हाजीर नभएपछि नगरकार्यपालिका बैठक निर्णय गरेर वरिष्ट अधिकृराजकुमार खड्कालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्न मन्त्रालयमा माग गर्दा स्वीकृति नपाएको मेयर बस्नेतले बताए। कार्यपालिका बैठकको निर्णय पत्र लिए आफैमन्त्रालय पुगेका मेयर बस्नेतलाई मन्त्तालयले स्थानीय तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन नसकिने जवाफ दिएपछि तत्काल संघीय कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेर फर्केको उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत अभावमा त्रियुगाका कर्मचारीले साउनदेखि यता तीन महिनाको तलबभत्ता खान पाएका छैनन् भने सरसफाइ कर्मचारीको दैनिक ज्यालादारी गरेको पारिश्रमिक रोकिएको छ। त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण फोहोर व्यवस्थापनमा पनि प्रतिकूल असर परिरहेको छ। उता जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता नगरवासीले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता वितरणमा थप समस्या आइपरेको छ।
हिन्दुहरूको ठूलो पर्व दसैँतिहार नजिकिइसकेको छ। त्यसले पनि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा आर्थिक कारोबार मात्र नभएर अन्य थुप्रै नीतिगत निर्णयहरू गर्न नपाएर अल्पकालीन र दीर्घकालीन दुवैखाले दुरगामी प्रभाव खेप्नुपरेको नगरपालिकाले जनाएको छ।
स्थानीयतह सरकार नै भएकाले मुख्य भूमिकामा रहने प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरवासीलाई ठूलै क्षति बेहोर्नुपर्ने सूचना अधिकारी विष्णु खत्रीले बताए। उनका अनुसार कर्मचारीको नयाँ सरुवा लिस्ट ननिस्केको अवस्थामा मन्त्रालयले यसअघि सरुवा गरिएका उपसचिव पनेरु नै त्रियुगाको प्रमुख प्रशासकीय अधिकृत भएर आउने प्रवल सम्भावना छ। नगरपालिकाले सम्भवतः आउँदो १२ गतेसम्ममा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउने जनाएको छ।
प्रकाशित: १० आश्विन २०८३ १०:१७ शनिबार