स्थानीयस्तरमै रोजगारी सृजना गर्दै युवा विदेश पलायन घटाउने उद्देश्यसहित त्रियुगा नगरपालिकाले ‘रोजगार संवाद कार्यक्रम’ सुरु गरेको छ। नगर रोजगार सेवा केन्द्रमार्फत रोजगारदाता संस्था, निजी क्षेत्र, व्यवसायी तथा सरोकारवालासँग अन्तरसंवाद गर्दै विद्यमान रोजगारीको दीगो व्यवस्थापन र नयाँ रोजगारीका सम्भावनाबारे सुझाव संकलन गरिएको हो।
नगर रोजगार सेवा केन्द्र संयोजक पम्फा घले (निशा)का अनुसार त्रियुगा रोजगारी सृजनाको सम्भावना भएको क्षेत्र भएकाले स्थानीय रोजगारदाता र सम्बन्धित पक्षसँग सहकार्य बढाउने पहल गरिएको हो। कार्यक्रममा उद्योग–व्यवसाय क्षेत्र, निजी कम्पनी, अस्पताल, शिक्षण संस्था तथा साना उद्यमका प्रतिनिधिहरू सहभागी थिए।
सहभागीहरूले हालको रोजगारीलाई थप व्यवस्थित र भरपर्दो बनाउँदै नयाँ अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। नगर उपप्रमुख महेश्वरी राईले सीप, प्रविधि र स्वरोजगारमार्फत स्थानीय युवालाई आफ्नै ठाउँमा अवसर सिर्जना गर्ने नीति नगरपालिकाले अघि बढाएको बताइन्।
नगरप्रमुख बसन्त बस्नेतले वैदेशिक रोजगारीबाट फर्केकालाई तालिम, सीप विकास र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलतामा जोड दिइरहेको जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले रोजगारदाता र रोजगार खोज्नेबीच समन्वय बढाउन ‘रोजगार संसार पोर्टल’ सञ्चालनमा ल्याइएको बताए।
नगरपालिकाले उक्त पोर्टलमार्फत रोजगारी, सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा श्रम बजारसँग सम्बन्धित सूचना प्रवाह गर्दै स्थानीय रोजगारीलाई प्रभावकारी बनाउने अपेक्षा गरेको छ।
प्रकाशित: १७ असार २०८३ २०:१८ बुधबार