समाज

हलेसी मन्दिर गुफामा खसेको रुख निकालियो

रुखले ढालेर गुफामा खसेको रुखका हाँगा। तस्बिरः महेश्वर

खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको गुफामा हावाले ढालेर खसेको रुख सावधानीपूर्वक निकालिएको छ। शुक्रबार रातिको हावाहुरीले ढालेर मन्दिर गुफाभित्र खसेको रुखका हाँगा केही घण्टा लगाएर साँझसम्ममा निकालिएको हो।

हलेसी तुवाचुङ नगपालिकाका प्रवक्ता तथा वडाध्यक्ष कमल गिरीका अनुसार गुफाबाहिरको रुख हावाले हल्लाएर ढल्दा गुफाभित्र खसेको थियो। शुक्रबार बिहान पुजारीहरू मन्दिरमा पस्ने क्रममा गुफाभित्र रुखका हाँगा पसेको अवस्थामा फेला पारेका थिए। हावाले ढालेको रुखको मुल र हाँगाले गुफा प्रवेश गर्ने रेलिङमा सामान्य क्षतिसमेत पुगेको गिरीले बताए।

गुफा रुखका हाँगाले भरिएपछि तत्काल मन्दिर व्यवस्थापन समिति, स्थानीय प्रहरी र नगर प्रहरी परिचालन गरेर पन्छाउने काम थालिएको थियो। दुई तीन घण्टा लगाएर सबै हाँगा निकालेर सरसफाइ गरिएको गिरीले बताए।

हलेसी मन्दिर परिसरमा अग्लो डाँडाको टुप्पामुनि रहेको हलेसी मन्दिरको मूल गुफा भित्रबाट आकाश देखिने ठूलो प्वाल छ। त्यही फराकिलो प्वाल भएकाले डाँडाको रुख हावाले ढाल्दा गुफाभित्र पस्न पुगेको स्थानीय बताउँछन्। ‘पहिलादेखि अलि कमजोर रुख भएकाले हावाले हल्लाइरहेको थियो,’ मन्दिर व्यवस्थापन समितिले भन्यो, ‘देवता थान भएकाले काट्न पनि नमिल्ने, रातिको चर्को हावाले ढालेछ।’

रुख खसेपछि एक दिन भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो। शुक्रबार साँझ रुख निकालिसकेपछि भने मन्दिर गुफा प्रवेश खुल्ला गरिएको छ। त्रिधार्मिक हलेसीमा बाह्रै काल भक्तजन पर्यटकको आगमन भइरहने गरेको छ। 

पछिल्लो एक दशकयता पुष्पलाल मध्येपहाडी लोकमार्गले काठमाडौंदेखि सिन्धुलीको खुर्कोट, उदयपुर र ओखलढुंगा सीमास्थल घुर्मी, जयरामघाट भएर खोटाङ सदरमुकाम दिक्तेल हुँदै भोजपुर नाका जोड्ने सडक कालोपत्र बनाएपछि हलेसी आउजाउमा थप सहज भएको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ १७:२० शनिबार