समाज

सिरिजङ्गामा चार दिन गोलिया ढुवानी बन्द

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले चैत १३ गतेदेखि चार दिन पालिका क्षेत्रका मुख्य सडकबाट गोलिया ढुवानी बन्द गर्ने भएको छ।

पालिका अध्यक्ष लालकृष्ण चौहान र उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले बिहीबार संयुक्त सार्वजनिक सूचना आह्वान गर्दै चैत १३ देखि १६ गतेसम्म पालिका क्षेत्रका मुख्य सडकमा ट्रयाक्टर वा ट्रकमार्फत गोलियाको ढुवानी बन्द गरिएको जनाएका छन्।

अध्यक्ष चौहान र उपाध्यक्ष मावोद्वारा जारी सूचना अनुसार चैत महिनामै वर्षा हुन थालेको र गोलिया निकासी तथा ढुवानीले गर्दा सडक बिग्रने, भत्कने र खाल्डो पर्ने पाइएकाले खाद्यान्न र यात्रुवाहक सवारी साधनका धनी तथा यात्रुले गरेको गुनासोका आधारमा तत्कालका लागि चार दिन गोलिया ढुवानी तथा निकासी बन्द गरिएको हो। 

पालिकाले मामाङ्खे-याङपाङ-तेल्लोक-आम्बेगुदिन-खाम्दिने सडक खण्डमार्फत चार दिनका लागि गोलिया ढुवानी बन्द गर्ने बताएको छ। पालिकाले जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा निकायसँग आवश्यक समन्वय तथा निर्देशन गरिदिन तथा सशस्त्र प्रहरीको सिनाम बेस क्याम्प र पालिकाका ८ वटै वडाका अध्यक्षलाई निर्णय कार्यान्वयनमा सहयोग गरिदिन बोधार्थ दिएको छ भने डिभिजन वन कार्यालय ताप्लेजुङलाई निर्णयको जानकारी गराएको जनाएको छ।

प्रकाशित: १२ चैत्र २०८२ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App