तीन दिनको लगायतार वर्षाले भत्काएर अवरुद्ध बनेका जिल्लाका सडकहरूमा यातायात सञ्चालनमा आउन थालेका छन्। उदयपुरसँग जोडिएका यी सडक वर्षापछिको पहिरोले पुरेर तथा भत्केर अवरुद्ध भएका थिए।
जिल्लाको पश्चिमी भेगको सिद्धिचरण लोकमार्ग सोमबार दिउँसोदेखि नै सुचारु भईसकेको छ। सिराहाको मिर्चयादेखि उदयपुरको कटारी–घुर्मी हुँदै ओखलढुङ्गा जोड्ने सिद्धिचरण लोकमार्गमा आधादर्जन ठाउँमा खसेको पहिरो पन्छाएपछि सुचारु भएको हो। त्यसैगरी गाईघाट–दिक्तलजोड्ने सगरमाथा लोकमार्ग र धरान–चतारा–गाईघाट–सिन्धुली खण्डको मदन भण्डारी लोकमार्ग मङ्गलबारदेखि पूर्णरुपमा सुचारु भएका छन्।
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका सूचना अधिकारी सुबास तिवारीका अनुसार निरन्तर १२ घण्टाको मर्मतपछि लोकमार्ग सुचारु भएको हो । मदन भण्डारी लोकमार्गकोसमेत रेखदेखको जिम्मा पाएको गाईधाट दिक्तेल योजना कार्यालयले दुवै लोकमार्गका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउनुका साथै भत्के बिग्रेको ठाउँमा मर्मत गरेपछि यातायात आवागमन सुचारु हुन पुगेको हो ।
उता जिल्लाको पूर्वी भेग बेलकादेखि छिमेकी जिल्ला भोजपुरको पाङ्चा हुँदै हतुवागढी तथा भोजपुर बजार जोड्ने सडकभने अझै सुचारु भएको छैन । विराटनगरदेखि इटहरी, धरान, चतारा हुँदै बेलका ८ कोठु, बेलका ७ मैनामैनीचुहार भएर भोजपुर जोडिएको सडक विभिन्न ठाउँमा ठूलठूलो पहिरो गएरयातायात अवरुद्ध भएको छ ।
भत्के बिग्रेको ठाउँमा मर्मत तथा पहिरो पन्छाउने कार्य लगातार भईरहे पनि अझै केही ठाउँ बाँकी रहेकालेगाडीहरु चल्न नसकेको बेलका ७ का वडाध्यक्ष निकेश राईले बताए । वडा कार्यालय, नगरपालिका र सडक कार्यालयसमेतको पहलमा दुवै जिल्लातर्फ मर्मत कार्य भईरहेको तर, अझै धेरै ठाउँ पहिरो पन्छाउन बाँकी रहेकाले बुधबार अवेरदेखि मात्र सडक चल्ने अनुमान गरिएको वडाध्यक्ष राईले बताएका छन् ।
यता सगरमाथा लोकमार्गको गाईघाट फोक्सिन्टारसम्म विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएर सुचारु गरिए पनि फोक्सिन्टारमा पुल अभावमा रसुवासम्म एकतर्फी यातायात सुचारु भईरहेको छ । गतवर्षको असोज १२ गते रातिको अविरल वर्षाले फोक्सिन्टारको पक्की पुल भत्काएपछि लगाइएको बेलिब्रीज पनि वर्षा सुरुभएसँगै हटाउनुपर्दा फोक्सिन्टार–रसुवाघाट खण्ड एकतर्फी कच्ची सडक स्तरोन्नति नभएकाले गाडी चल्न कठिन छ ।
सो खण्डमा पर्ने लाँकुरी खोला सानो भए पनि ठाडो पानी बग्ने भएकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता गाडीहरुलाई छ । मङ्गलबार विहान गाईघाटदेखि रसुवा जाँदै गरेका सुमो जीपहरु फसेर ३ घण्टासम्म अलपत्र परेको प्रत्यक्षदर्शी यात्रु महेश खनालले बताए । उनका अनुसार खोला बीचमा पुगेर अड्केको जीप अघि जान नसक्नुका साथै पछाडि फर्कन पनि नसकेपछि घण्टौँ कुरेर ठूलो बस आएपछि तानेर निकाल्नु परेको थियो ।
विहान ११ः०० बजे खोलामा फसेको जीप यात्रुहरुको प्रयास असफल भएप्छि यात्रुबाहक बसमा डोरी बाँधेर प्रयास गर्दा ३ घण्टामा निकाल्न सफल भएको खनालले बताए । फोक्सिन्टारदेखि रसुवासम्मको कच्ची सडक १० वर्षअघि नै निर्माण भए पनि लाकुरीमा पुल नहुँदा यातायात आउजाउ कठिनाईपूर्ण हुने गरेको छ ।
रौतामाई गाउँपालिका ५ मा पर्ने फोक्सिन्टारदेखि राकुरी खोला तर्दै फोक्सिन्टार जोडिने सडक फोक्सिन्टारमा पक्की पुल र रसुवामा झोलुङ्गे पुल भएकाले सरकारले बेवास्ता गरेको वडाध्यक्ष पाण्डव राईले बताए । गतवर्ष फोक्सिन्टारको पुल भत्केपछि मात्र लाँकुरी खोला भएर एकवार सडक सञ्चालनमा आएको नत्र पुल तरेर खोटाङतर्फबाट रसुवा जाने सडक भएकाले हेलामा परेको राईले बताए ।
सूचना अधिकारी तिवारीका अनुसार गाईघाट–फेक्सिन्टारसम्मकोअवरोध हटाइएपनिलाकुरी खोलाको कहरले यात्रुलाई कठिनाई दिइरहेको छ । गाईघाटदेखि फोक्सिन्टारसम्म र रसुवादेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडक भने मर्मत संभारपछिमङ्गलबारदेखि राम्ररी सुचारु भएको इन्जिनियर तिवारीले बताएका छन् ।
प्रकाशित: २१ आश्विन २०८२ १९:४८ मंगलबार