बजार अनुगमनको क्रममा व्यापारीको गोदाममा भेटिएको रासायनिक (युरिया) मल किसानलाई वितरण गरिएको छ। गोदाम मालिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला अनुगमन समितिले गत १२ गते गरेको बजार अनुगमनको क्रममा कटारी बजारका व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष सप्लायर्स एण्ड ट्रेडर्सको गोदाममा अवैध मल फेला परेको थियो । किसानले माग गरे अनुसार नगरपालिकाको सिफारिसमा कृषि सामग्री कम्पनी लिमिटेड गाईघाटले पठाएको मल हराईरहेका बेला व्यापारीको गोदाममा अवैध मल फेला पारेपछि अनुगमन समितिले ताला लगाएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डे नेतृत्वको अनुगमन समितिले अवैध मलबारे छानविन गर्न कटारी नगरपालिकालाई जिम्मा दिएको थियो । छानविनको क्रम सुरु गर्दै नगरपालिकाले मल नपाएर हाहाकार भईरहेका किसानलाई वितरण गरेको जनाएको छ । किसान मल नपाएर छटपटाईरहेका बेला छानविन प्रक्रिया चलाउँदै मल पनि वितरण गर्ने निर्णय गरेको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए ।
सोमबार वसेको नगरस्तरीय सर्वदलीय वैठकले मल वितरण प्रकृयामा भएको त्रुटीबारे छानविन गर्न इलाका प्रशासन कार्यालय कटारीका प्रमुख उपसचिव कोपिला राईको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । बैठकले ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२’को नियम २७ बमोजिम गठित समितिको सिफारिसमा मल ल्याउने सहकारी तथा फर्ममाथि छानविन गर्ने निर्णय भएको मेयर श्रेष्ठले बताए ।
कटारीले अहिलेसम्म अनुदानको मल नगरभित्र क्रियासिल विभिन्न सहकारी तथा अन्य फर्महरुमार्फत वितरण गर्दै आएको छ । तर, यसपटक वितरण गर्ने जिम्मा पाएका सहकारी तथा फर्महरुलेतोकिए बमोजिम समय र परिमाणको मल नआएको भन्दै व्यापक गुनासो गरिरहेकै बेला ठूलो परिमाणको मल गोदाममा भेटिएपछि छानविन आवश्यक रहेको ठहर बैठकले गरेको छ ।
इप्रका संयोजकत्वको छानविन समितिमा नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि, उदयपुर उद्योग वाणिज्य सङ्घ कटारी, राष्ट्रिय अनुसन्धान, किसान सङ्घर्ष समितिका प्रतिनिधि र नगरपालिकाको कृषि शाखा प्रमुख सदस्य सचिव रहने निर्णय भएको छ । वैठकले समितिले मलको विषयमा निश्पक्ष छानविन गरी प्रतिबेदन बुझाउन निर्देश गरेको छ ।
भदौ १२ को अनुगमनको क्रममा आशुतोष ट्रेडर्स एण्ड जेनेरल स्टोर्समा २ सय बोरा मल फेला परेको भनिएपनि इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिँदा भने १ सय ७५ बोरा मात्र फलेला परेको जनाएको छ । सो मल कटारी नगरका वडा नं. १ देखि ७सम्मका किसानलाई वितरण गर्ने निर्णय भएको मेयर श्रेष्ठले बताएका छन् ।
इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी कमल बजगाईले जिल्ला प्रशासन कार्यालयको पत्रानुसार बैठक बसेर नगरपालिकामार्फतमल वितरण गर्ने निर्णय गरिएको हो । जस अनुसार वितरण गर्न नगरपालिकाले मङ्गलबारै सबै मल जिम्मा लिईसकेको डिएसपी बगजाईले बताए । सर्जमिन मुचुल्का गरी मल वितरणका लागि नगरपालिकालाई दिइसकेको र नगरले वितरण गरेको प्रमाण र वितरित मलको मूल्यवापतको रकम राजश्व खातामा जम्मा गर्नुपर्ने उनले बताए । गोदाम सञ्चालक दिलिप चौधरीलाई सोमबारै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकिएको बजगाईले बताए ।
गोदामको मल नगरका किसानलाई वितरण गर्न पनि बैठकले निर्देश गरेको छ । जस अनुसार १ नं. वडामा १५ बोरा, २ मा २०, ३ मा १५, ४ मा ६०, ५ मा २५, ६ मा १५ र ७ मा २५ बोरा वितरण गर्न कोटा तोकेको छ । साथै वितरण गरिएको मल प्रतिवोराको१ हजार रुपैँया रकम जिल्ला प्रशासन कार्यालयको धरौटी बैँक खातामा जम्मा गर्नलगाइएको छ ।
प्रकाशित: १७ भाद्र २०८२ २०:०८ मंगलबार