समाज

सडकबाट पल्टिएको ट्रयाक्टरलाई मैवाखोलाले बगायो : चालकसहित दुईजना बेपत्ता

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिइ मैवाखोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा वतन नखुलेका ट्रयाक्टर चालक समिर बराईली र ट्रयाक्टरमा सवार अनिल नाल्वो रहेका छन्। सोमबार बिहान २ः४० बजे आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानस्थित अरुण भेनियरतर्फ आउँदै गरेको ट्रयाक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिब १५ मिटर तल खसी मैवाखोलामा पुगेको थियो।

पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्रयाक्टरलाई झरेको स्थानबाट करिब २० मिटर तल खोलाले बगाइ बगरको देखिएको तर चालक बराइली र ट्रयाक्टरमा सवार नाल्वोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। उक्त घटना भएको जानकारी सोही ट्रयाक्टरमा सवार १४ वर्षीय समिर नाल्वोले इलाका प्रहरी कार्यालय दोभानलाई जानकारी गराएपछि परिचालित भएको प्रहरी टोलीले उक्त घटनाको प्रारम्भिक अध्ययन तथा जानकारी लिएको हो।

घटनाको थप अनुसन्धान तथा बेपत्ता सदस्यको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको जानकारी दिएको छ।

प्रकाशित: २२ भाद्र २०८३ ०७:२७ सोमबार