समाज

उदयपुरगढीको पुरानो गढीमा बढे पर्यटक

लामो समयदेखि गुमनाम र ओझेलमा परेका जिल्लाका विभिन्न पर्यटकीयस्थलहरु पछिल्लो समय धमाधम चिनारीमा आउन थालेका छन् । सङ्घीयता र गणतन्त्र प्राप्तीपछि अधिकार सम्पन्न र स्रोतसाधनयुक्त स्थानीयतह पुनर्संरचनासँगै गठन र सञ्चालनमा आएपछि  पर्यटकीय स्थलहरु सतहमा आउन थालेका हुन् ।  

यसै सिलसिलामा उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीस्थित पुरानो गढीको आकर्षण अहिले ह्वात्तै बढेको छ । आन्तरिक पर्यटनको विकास गर्ने उदेश्यले गाउँपालिका गठन भई सञ्चालनमा आएको पहिलो वर्षदेखि नै जनप्रतिनिधिको नजर परेको यो ठाउँ चर्चित बन्दै गएको छ ।  

०२८ सालमा त्यहाँबाट सदरमुकाम गाईघाट स्थानान्तरण गरेपछि बसाई सर्ने क्रम बढेसँगै उराठ र उजाड बन्दै गएको गढीक्षेत्र अहिले हराभरा भईसकेको छ । सङ्घीयता स्थापनासँगै ०७३ मा स्थानीयतह पुनर्संरचना भएपछि गढीलाई मुकाम (केन्द्र) तोकेर उदयपुरगढी गाउँपालिका नामाकरण गरियो । ०७४ असारमा सम्पन्न स्थानीयतह चुनावपछि गाउँपालिका कार्यालय सञ्चालन हुन थाल्नु नै वर्षौँदेखि ओझेलमा परेको गढीले काँचुली फेर्न सकेको हो ।  

गाउँपालिकाले पहिलो वर्ष अर्थात आर्थिकवर्ष ०७४÷७५ मै पुरानो गढीलाई पुनर्संरचना गरि पर्यटनस्थलको रुपमा विकास गर्ने निर्णय गर्यो । बीचमा कोतखाना, वरिपरि बङ्करको भग्नावशेष रहेको सो ठाउँलाई स्वरुप नबिगारि तर, विकसित र परिमार्जन गरेर गढीको पुनर्संरचना गर्दा इतिहासको स्मरण, सामरिक महत्वको उजागर र पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने मान्यताले संरचनाहरु बनाइएको छ ।  

गाउँपालिका, प्रदेश सरकार र सङ्घीय पर्यटन मन्त्रालयको साझेदारी लगानीमा लगातार ७ वर्षको प्रयासपछि अहिले गढीक्षेत्र पर्यटकका लागि घुम्न लायक भएको छ । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भईसकेकाले चालुवर्षदेखि गढी क्षेत्र सञ्चानलको जिम्मा गाउँपालिकाले अरुलाई दिएको छ ।  

प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले पुरानो गढीको पुनर्संरचना कार्य लगभग सकिन लागेकाले सञ्चालन गर्ने जिम्मा पनि अरुलाई नै सुम्पिएको बताए । उनका अनुसार स्वस्थ्य प्रतिस्पर्धाको प्रक्रिया अवलम्बन गर्दै चालुवर्षको सुरुदेखि नै पुरानो गढी सञ्चालनको जिम्मा निजीक्षेत्रलाई दिइएको छ । सुरुवाती चरण भएकाले चालुवर्षका लागि १ लाख रुपैँयामा ठेक्का लगाइएको हाकिम राईले बताएका छन् । पहिलो वर्षको अनुभव, पर्यटकको चाप र आमदानीको स्तर हेरेर आगामी वर्षदेखि बढाउने या घटाउने कुरा कार्यपालिकाले तय गर्ने उनी बताउँछन् ।  

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरका अनुसार तत्कालीन सेनवङ्शी राजाले शासन गरेको गढीक्षेत्र पृथ्वीनारायण शाहको राज्य एकीकरणको क्रममा कोतखाना (हातहतियार राख्ने ठाउँ) थियो । समुद्री सतहदेखि १ हजार १ सय ६० मिटर उचाईमा रहेको चारैतिर देखिन डाँडा (थुम्को) भएकाले सामरिक महत्वले त्यसबेलाका शासकले कोतखाना बनाएको अध्यक्ष मगर बताउँछन् ।  

केन्द्रीय राज्यको स्थानीय अङ्ग जिल्ला बनाइएपछि त्यहाँ सदरमुकाम रहन गयो । बडा हाकिम नेतृत्वको प्रशासनिक केन्द्रमा प्रहरी, अदालत, मालपोत, नापी, कारागारलगायत  राज्य सत्ताका आधारभूत इकाईहरु सबै त्यहाँ सञ्चालित थिए । ०२८ सालमा सदरमुकाम गाईघाट सारेपछि सो ठाउँ विस्तारै ओझेलिएकोमा सङ्घीयता र गणतन्त्र प्राप्तीपछि फेरि जागेको अध्यक्ष मगरले बताए ।  

स्थानीय बौद्धिक व्यक्तित्व बोधकुमार घिमिरेका अनुसार उदय सेनले शासन गरेकाले जिल्लाको नामै ‘उदयपुर’ रहन गएको हो । प्राकृतिक रुपमै पर्यटककलाई आकर्षण दिन सक्ने, चारैतिर मनमोहक दृष्य देख्न पाइने उदयपुरगढीलाई नेपाल सरकारले देशका १ सय पर्यटकीय गन्तव्यस्थलमध्येमा सूचीकृत गरेको छ ।  

अहिले पुरानो गढीक्षेत्रमा हरेकदिन आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको छ । दिनहु १ सयदेखि ५ सयजनासम्म गढी घुम्न आउने गरेको गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माले बताए । मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्ड नेपालटारदेखि ९ किलोमिटर मात्र उक्लिए पुगिने सो ठाउँसम्म जोडिएको सडक पछिल्लो वर्ष स्तरोन्नति भएसँगै आउजाउमा सहज भएको प्रवक्ता विश्वकर्मा बताउँछन् ।

नेपालटार–गढी सडक कालोपत्रेसहितको स्तरोन्नतिको काम २ वर्षयता भईरहेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको समपूरक अनुदान साझेदारीमा गाउँपालिकाले ठेक्का लगाएको सडक स्तरोन्नतिको काम चालु वर्ष सम्पन्न हुनेगरि काम भईरहेको छ । गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काले सो सडक सम्पन्न भएपछि नेपालटारदेखि १५ मिनटमा गढी पुग्न सकिने भएकाले पर्यटकको सङ्ख्या थप बढ्ने बताए । 

प्रकाशित: १ मंसिर २०८२ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App