बिहानको घाम चौरमाथि आइपुग्दा चेरेचौरको हरियाली बिस्तारै खुल्दै जान्छ। टाढा डाँफे लेकको डाँडो, पारिपट्टि धिमीचौर र तल देखिने खलंगाको फराकिलो फाँट। बीचमा गाईभैंसीका घण्टी बजिरहेका हुन्छन्। भेडाका बथान चौरभरि छरिएका हुन्छन्। गोठालाहरू दूध दुहुन, पशुवस्तु चराउन र पाहुनालाई दही खुवाउन व्यस्त हुन्छन्।
केही वर्षअघिसम्म यो दृश्य स्थानीय गोठालाको दैनिक जीवनको हिस्सा मात्रै थियो। अहिले त्यही दृश्य मोबाइलको क्यामेरामा कैद हुन थालेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका–३ मा पर्ने चेरेचौर पछिल्लो समय घुमफिर गर्नेहरूका लागि नयाँ गन्तव्य बन्दैछ। यहाँ आउने पर्यटकको मुख्य आकर्षण कुनै बनावटी संरचना होइन, खुला आकाश, चौरको हरियाली र गोठालाको जीवन हो।
सहरको भीडबाट केहीबेर बाहिर निस्कन चाहनेहरू चेरेचौर पुग्छन्। कोही चौरमा बसेर वरिपरिको दृश्य नियाल्छन्। कोही गाईभैंसी र भेडासँगै फोटो खिच्छन्। कतिपयले गोठमै बनेको दूध र दही चाख्छन्। पछिल्लो समय त टिकटक र भिडियो बनाउनकै लागि आउने युवाको संख्या पनि बढेको छ।
स्थानीय दलजीत खत्रीका अनुसार अहिले दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक चेरेचौर पुग्ने गरेका छन्। ‘पहिले यहाँ गोठालाहरू मात्रै देखिन्थे,’ उनी भन्छन्, ‘अहिले दिनहुँ घुम्न आउने मानिसको संख्या बढेको छ। भिडियो बनाउने, फोटो खिच्ने र दूध–दही खानेहरू धेरै हुन्छन्।’
दलजीतको आफ्नै कथा भने चेरेचौरमा पर्यटक आउनुभन्दा धेरै पुरानो छ। उनी १८ वर्षदेखि यहीँ सानो होटल चलाउँदै आएका छन्। चौरमा आउने गोठाला र यात्रुलाई चिया–खाजा खुवाउँदै उनले वर्षौं बिताएका छन्। अहिले पर्यटकको संख्या बढेपछि उनको व्यवसायमा पनि नयाँ सम्भावना देखिएको छ।
तर चेरेचौरको अर्थ स्थानीयका लागि पर्यटन मात्रै होइन।
वर्षायाम सुरु भएपछि यहाँ अस्थायी गोठ बस्छन्। छिना, महतगाउँ, भण्डारीबाडा, सिंगाचौर र ढाणथपलालगायत क्षेत्रबाट पशुवस्तु चराउन ल्याइन्छ। करिब तीन महिना चौर नै गोठालाको घरजस्तै बन्छ।
अहिले यहाँ ८० भन्दा बढी पशुका गोठ छन्। बिहानै पशुवस्तुलाई चौरमा छाडिन्छ। गोठाली जयलक्ष्मी खत्रीका अनुसार गोठालाहरू दिनभर तिनकै वरिपरि हुन्छन्। साँझ पशुवस्तु गोठ फर्किएपछि दूध दुहुन्छन्। त्यही दूधबाट दही बनाउँछन्। केही स्थानीयका लागि यही उत्पादन घरखर्च चलाउने मुख्य आधार हो।
त्यसैले चेरेचौरको हरियालीभित्र पर्यटनको एउटा कथा मात्रै छैन। यहाँ पशुपालन, श्रम, स्थानीय उत्पादन र पुस्तौँदेखिको जीवनशैली पनि छ।
गोठाला नरबहादुर खत्रीलाई पर्यटक आउन थालेकोमा खुसी लागेको छ। ‘मानिसहरू यहाँको सुन्दरता हेर्न आउँछन्। दूध–दही खान्छन्,’ उनी भन्छन्, ‘हामीलाई पनि आफ्नो उत्पादन बेच्ने मौका हुन्छ। बाहिरबाट आउने मानिस बढेपछि राम्रो लागेको छ।’
चेरेचौरको विशेषता यही हो, यहाँ पर्यटक र स्थानीयबीचको दूरी धेरै ठूलो छैन। ठूला होटल वा रिसोर्ट छैनन्। महँगा मनोरञ्जनका साधन छैनन्। कृत्रिम पार्क छैन। तर चौरमा बस्दा पर्यटकले एउटा यस्तो जीवन देख्न पाउँछन्, जुन सहरमा हराउँदै गएको छ।
गोठको गन्ध, पशुको घण्टी, माटोको बाटो, ताजा दूध–दही र गोठालाको दिनचर्या—यिनै कुरा चेरेचौरको पर्यटनका आधार बन्दैछन्।
सदरमुकाम खलंगाबाट चेरेचौर करिब ६ किलोमिटर टाढा छ। पैदल जाँदा करिब डेढ घण्टा लाग्ने भए पनि सडकमार्फत करिब ४५ मिनेटमै पुग्न सकिन्छ। सडकको पहुँच बढेसँगै घुम्न आउने मानिस पनि बढेका छन्।
अब चेरेचौर र धिमीचौर जोड्ने पुल निर्माण भइरहेको छ। पुल बनेपछि आवागमन अझ सहज हुने स्थानीय अजय बुढ्थापाको अपेक्षा छ।
तर पर्यटक बढ्दै जाँदा प्रश्न पनि थपिँदै छन्—के चेरेचौर त्यसका लागि तयार छ?
खानेपानी, शौचालय, फोहोर व्यवस्थापन, बसोबास, सडक र पर्यटकीय पूर्वाधार अझै पर्याप्त छैनन्। अहिलेको पर्यटकको चापलाई व्यवस्थित गर्न नसके प्राकृतिक सौन्दर्यसँगै वातावरणीय समस्या पनि बढ्न सक्छ।
त्यसैले स्थानीयको अपेक्षा पर्यटक बढ्नुमा मात्र छैन। उनीहरू चाहन्छन्, पर्यटक बढून्, तर त्यसको लाभ स्थानीयको घरसम्म पुगोस।
कमलबहादुर खत्री भन्छन्, ‘प्रकृतिले चेरेचौरलाई सुन्दर बनाइसकेको छ। अब सडक, खानेपानी, पुल र आवश्यक पूर्वाधार थप्न सके यहाँको सुन्दरता स्थानीयको आम्दानीसँग जोड्न सकिन्छ।’
चौरसँग जोडिँदै अर्को ठूलो सम्भावना
चेरेचौरको भविष्य पर्यटनमा मात्र सीमित छैन। यही क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शैक्षिक भवन निर्माण भइरहेको छ। आगामी दिनमा स्वास्थ्य शिक्षाको पठनपाठन सुरु भएपछि विद्यार्थी, शिक्षक र बाहिरी जिल्लाबाट आउने मानिसको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
यसले चेरेचौरलाई एउटा ग्रामीण चौरबाट शिक्षा, स्वास्थ्य र पर्यटन जोडिएको क्षेत्रमा रूपान्तरण गर्ने सम्भावना बोकेको छ।
त्यसैगरी, मुगुको रारा हुँदै आउने पदयात्रीलाई चेरेचौरसँग जोड्न सकिने सम्भावना पनि छ। खस भाषाको उद्गमस्थल सिंजा जाने–आउने पर्यटकका लागि पनि यो क्षेत्रलाई एउटा विश्रामस्थलका रूपमा विकास गर्न सकिन्छ।
हिउँदमा हिमपात हुँदा चेरेचौरको रूप झनै बदलिन्छ। हिउँ खेल्न र वरिपरिको दृश्य हेर्न स्थानीय नै यहाँ पुग्न थालेका छन्।
प्रकाशित: ९ भाद्र २०८३ १८:१४ मंगलबार