जुम्लामा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन जना कृषकलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ सहित सम्मान गरिएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत उनीहरूलाई सम्मान गरेको हो।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार उत्पादन वृद्धि, व्यवसायिक खेती विस्तार तथा कृषि क्षेत्रमा नवप्रवर्तनमार्फत योगदान पुर्याएका अग्रणी कृषकलाई छनोट गरी पुरस्कृत गरिएको हो। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सम्मानित कृषकहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा बोल्दै समन्वय प्रमुख आचार्यले यस्ता सम्मानले कृषकलाई थप प्रेरित गर्ने र कृषि क्षेत्रमा उत्साह बढाउने विश्वास व्यक्त गरे।
कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार हिमा गाउँपालिका–३ मोफ्ला गाउँस्थित कठायत एग्रो फर्मका सञ्चालक सार्की कठायत प्रथम भएका छन्। १५ वर्षदेखि व्यावसायिक स्याउ खेती गर्दै आएका कठायतसँग ७ सय बिरुवा रहेका छन् भने १२ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैंचाबाट वार्षिक करिब साढे ९ लाख रुपैयाँ आम्दानी भइरहेको छ।
त्यस्तै चन्दननाथ नगरपालिका–८ तलिउमका भवानी कृषि तथा एग्रो फर्मका सञ्चालक भैरवबहादुर धराला द्वितीय भएका छन्। ४५० स्याउका बिरुवा र ११ हजार २३० वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैंचाबाट उनले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।
प्रथम हुने कठायतलाई ३० हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्ला प्रदान गरिएको छ भने द्वितीय धरालालाई २५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको छ।
यसैबीच, गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटका गुठीचौर एग्रो फर्मका सञ्चालक टंक गिरीलाई पनि विशेष सम्मान गरिएको छ। राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ प्राप्त गरिसकेका गिरीलाई कृषि क्षेत्रमा प्रेरणादायी उदाहरणका रूपमा लिइएको छ।
कार्यालय प्रमुख अधिकारीका अनुसार कृषि पेशाप्रति आकर्षण बढाउने उद्देश्यले यस्ता सम्मान कार्यक्रम आयोजना गरिएको हो। चालु वर्ष पाँच जनाको आवेदनमध्ये मूल्याङ्कनपछि दुई जना उत्कृष्ट कृषक छनोट गरिएको बताइएको छ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा यस वर्ष १७ हजार ५५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ। त्यसमध्ये ५ हजार ५९१ मेट्रिक टन बाहिर निर्यात भई करिब ४१ करोड २९ लाख रुपैयाँ आम्दानी भएको छ।
गत वर्ष १९ हजार ८४० मेट्रिक टन उत्पादन भएकोमा ९ हजार ३३१ मेट्रिक टन निर्यातबाट ६१ करोडभन्दा बढी आम्दानी भएको थियो।
यस वर्ष स्याउ खेती क्षेत्रफल ४ हजार ३२५ हेक्टरबाट बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ भने फल दिने क्षेत्रफल र कृषक संख्या पनि निरन्तर बढ्दै गएको कृषि कार्यालयले जनाएको छ।
प्रकाशित: ९ असार २०८३ १७:०६ मंगलबार