ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-२ थेचम्बु घटनामा कुटपिट भएको भनिएका पीडित विकास लामा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी खुलेका छन्।
लामालाई स्थानीयले कुटपिट गरेको भन्दै केही दिनअघि सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय तेजवीर लिम्बूलाई पक्राउ गरेको थियो। पछि सामाजिक सञ्जालमा लामाले पाथीभरा याङवरकको भवन निर्माणको काम गर्ने एक मजदुरलाई मरणासन्न हुने गरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।
लामालाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका मेन्याङ्वो प्रहरी हिरासतमा रहेका बेला लामा आफैँ ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी जटाशंकर यादवका अनुसार लामाले २०८२ सालको कात्तिक महिनामा ज्यान मार्ने उद्योगको कसुर गरेका थिए।
लामामाथि आइतुराङ तामाङले ज्यान मार्ने उद्योग कसुरको जाहेरी दिएको र तत्पश्चात् उनी फरार भएको खुल्न आएको ताप्लेजुङ प्रहरीले जनाएको छ। शुक्रबार लामालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको प्रहरीको भनाइ छ। अहिले प्रहरीले लामा कुटपिट भएको घटनाको अनुसन्धानसमेत जारी राखेको छ भने ज्यान मार्ने उद्योगका फरार प्रतिवादी लामालाई नियन्त्रणमा लिई ललितपुर जिल्ला प्रहरी कार्यालय पठाएको छ।
गत असार ९ गते लामाले मजदुरीका लागि आफूले नै ताप्लेजुङ ल्याएका एक मजदुरमाथि कुटपिट गरेको, कुटपिट नगर्न पालिकाका कर्मचारी र स्थानीयले सम्झाउँदा नमानेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। प्रहरीले जिल्ला प्रहरी कार्यालय पठाउने तयारी गर्दा सवार गाडी र चालकमाथि हातपात गरेको अभियोग लामामाथि रहेको छ। सो क्रममा स्थानीयले लामामाथि कुटपिट गरेको भिडियो बाहिर आएको थियो। त्यहाँ लामाका दुवै हात बाँधिएको र ‘अझै कुटपिट गर्नुपर्ने’ आशयका भनाइ बाहिर आएका थिए।
त्यही भिडियोका आधारमा प्रहरीले प्रहरी निरीक्षक यादवको संयोजकत्वमा तीन सदस्यीय अनुसन्धान टोली बनाएको थियो। अनुसन्धान टोलीको प्रारम्भिक अध्ययनका आधारमा लामा कुटपिट प्रकरणमा जोडिएका मेन्याङ्वोलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
लामालाई भने ज्यान मार्ने उद्योगका फरार प्रतिवादीको रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। असार ९ गते भएको घटनापछि लामालाई प्रहरीले अनुसन्धानका लागि एक दिन हिरासतमा लिएको थियो। लामाले कुटपिट गरेका भनिएका मजदुरले प्रहरीमा जाहेरी नदिएपछि उनी छुटेका थिए।
प्रकाशित: २० असार २०८३ ११:०९ शनिबार