समाज

काफल टिप्दै, देउडा गाउँदै सिञ्जाले मनायो ‘काफल दिवस’

तस्बिर साैजन्य: गीता शाही।

जब देशका अन्य भागमा असार मसान्तको चटारो हुन्छ, जुम्लाको ऐतिहासिक सिञ्जा उपत्यका भने प्रकृति र संस्कृतिमा रमाइरहेको हुन्छ। यहाँका बासिन्दाहरूले बुधबार पाटनमा काफल टिपेर, देउडा गाएर र आपसमा खुसी साटासाट गर्दै ‘काफल दिवस’ का रूपमा असार महिनालाई बिदा गरेका छन्।

परापूर्वकालदेखि चल्दै आएको यो मौलिक परम्परालाई जीवन्त राख्न सिञ्जा गाउँपालिकाले विगत तीन वर्षदेखि असार मसान्तलाई ‘काफल दिवस’ घोषणा गरी स्थानीय बिदा दिँदै आएको छ। सोहीअनुसार, बुधबार पनि सिञ्जा क्षेत्रका युवायुवतीहरू पाटन पुगेर उत्सवमा रमाए।

तस्बिर साैजन्य: गीता शाही

सिञ्जा गाउँपालिका-६ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार, यस दिन स्थानीयहरू गोवानी, दमाईमारे, र देउलाडीजस्ता पाटनहरूमा पुगेर काफल टिप्ने, देउडा र चड्किला गाउने गर्छन्।

‘यो दिन युवायुवतीहरूका लागि भेटघाट र मायाप्रीति साट्ने अवसर पनि हो,’ उनले भने, ‘यो दिन आफ्ना बाबु-आमाको अगाडि देउडा खेल्दा पनि लाज मानिँदैन।’

यो पर्वका आफ्नै रोचक मान्यताहरू छन्। युवतीहरूले टिपेको काफल युवाहरूले मागेर खाने, यो दिन अनिवार्य पानी पर्नुपर्ने र गाईवस्तु लेक लैजानुपर्ने विश्वास गरिन्छ। पाटनमै दही, खिर, मासु र पुरी जस्ता परिकार खाने चलन पनि छ।

तस्बिर साैजन्य: गीता शाही

जेठ १५ देखि पाक्न सुरु हुने काफल असार मसान्तसँगै हराएर जाने विश्वास गरिन्छ। त्यसैले, यो दिनलाई काफल चाख्नै पर्ने दिनका रूपमा लिइन्छ।

काफलको प्रसंग सिञ्जाली लोकगीतहरूमा प्रशस्तै भेटिन्छ, जसले यस फलको सांस्कृतिक महत्त्वलाई दर्शाउँछ। पवित्र फल मानिने काफलले राताम्मे भएका पाटनहरू र देउडाको भाकाले सिङ्गो सिञ्जा उपत्यका नै उत्सवमय बनेको थियो।

प्रकाशित: ३२ असार २०८२ २०:५४ बुधबार

#NagarikNews #NepaliNews