समाज

अँधेरी दुर्घटनाका मृतक चालक र सहचालकको पहिचान खुल्यो

उदयपुरमा भएको सवारी दुर्घटनाका मृतक दुवै जनाको सनाखत भएको छ। ज्यान गुमाउनेहरूमा चालक सर्लाहीका ४२ वर्षीय रणबहादुर माझी र सहचालक सिन्धुलीका ४४ वर्षीय जयबहादुर माझी रहेका छन्।

सोमबार (आज) बिहान आफन्तजन आएपछि शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृतकका आफन्तसमेत रहेकी मरिण गाउँपालिका उपाध्यक्ष विमला माझीसहितको आफन्तजन आएपछि जिल्ला अस्पताल उदयपुरमा राखिएको शव सनाखत गरी पोस्टमार्टम प्रक्रिया अघि बढाइएको हो।

उपाध्यक्ष माझीका अनुसार मृतकहरू नातामा साढु भाइ साढु दाइ हुन्। नातेदार उनीहरू एउटै गाडीमा चालक र सहचालकको रूपमा काम गर्ने गरेको खुलेको छ। उनका अनुसार दुवै जना युनिलिभर कम्पनीको उत्पादनका सामग्री बजारीकरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्।

पोस्टमार्टम र अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव उनीहरूकै घर पठाउने गरी परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आइतबार दिउँसो साढे तीन बजे मदन भण्डारी लोक मार्ग अन्तर्गत गाईघाट कटारी खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा दुर्घटनामा परि उनीहरूको ज्यान गएको थियो। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नं।को ट्रक आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल अँधेरी खोलामा खस्दा गम्भीर घाइते भएका चालक र सहचालकलाई उपचारार्थ अस्पताल लगिएकोमा बेलुका सवा पाँच बजेतिर चिकित्सकले मृत घोषित गरेको थियो।

अँधेरी मदन भण्डारी लोक मार्गको सबभन्दा बढी दुर्घटना हुने ठाउँ साबित हुँदै आएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदा अँधेरी झर्नादेखि संगमचोकसम्मको खण्ड अत्यन्त घुम्ती र लगातार ओरालो भएकाले बढी भार वहनका गाडीहरू नियन्त्रणबाहिर गएर दुर्घटनामा पर्ने गरेका छन्।

दैनिक जसो दुर्घटना हुने गरेकाले सो ठाउँ दुर्घटनाको हटस्पट भइसकेको छ। सडक निर्माणकै क्रममा प्राविधिक गल्तीले यस्तो समस्या निम्तिएको निष्कर्ष निकाल्दै विज्ञहरूले सो खण्डमा सुधार गर्न या वैकल्पिक सडक निर्माण गर्न सुझाए पनि कार्यान्वयन नहुँदा बारम्बार  यस्तो अप्रिय घटना दोहोरिने गरेको छ।

प्रकाशित: ५ माघ २०८२ १०:१८ सोमबार